सय करोड क्लबमा सलमानको नरोकिने रेस !

सय करोड क्लबमा सलमानको नरोकिने रेस !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड बक्स अफिसका सलमान खान बादशाह हुन् । यसको उदाहरण उनका पछिल्लो ८ वर्षमा प्रदर्शन भएका १३ सिनेमा हुन्। अर्को शब्दमा भन्नु पर्दा यी सबै सिनेमा सय करोड क्लबका सदस्य हुन् । जसमा कुनै २ सय र ३ सय करोडमा पनि सामेल छन् ।

सय करोड क्लबको कुरा गर्दा आमिर खान यसका संस्थापक हुन् । भने यो क्लबलाई सलमानले स्थापित गरे । आमिरको ‘गजिनी’ पहिलो पटक सन् २००८ मा यो क्लबमा इन्ट्री गरेको थियो । त्यसयता ६५ बलिउड सिनेमा यसका सदस्य भैसकेका छन् । हुनत अन्य अभिनेताका सिनेमाले पनि सय करोड क्लबको उचाइ नापेपनि उनिहरुका सिनेमाले यस क्लबमा निरन्तरता दिन सकेका छैनन् । सलमान मात्र सय करोड क्लबका एक्ला घोडा हुन्, जसका सिनेमा कहिलेकाहिँ कमजोर कलेक्सनका वावजुत यस क्लबमा इन्ट्री गरेरै छोड्छन् ।

प्रदर्शनरत ‘रेस ३’ले पनि तीन दिनमै सय करोड माथिको कलेक्सन गरेर यो सिरिजको रेस प्रमाणित गरिसकेको छ । हेर्न बाँकी यो सिनेमाले आफुलाई लाइफटाइम कलेक्सनमा कहाँनेर उभ्याउने छ ।

यी मध्ये तीन सिनेमा ३ सय करोड, दुई सिनेमा २ सय करोड र नौं सिनेमा सय करोड क्लबमा समावेश छन् । ‘रेस ३’ को चार दिने कलेक्सन १२०.२४ करोड छ । यसले २ सय करोड सजिलै छुन सक्ने अनुमान छ ।

चर्चा गरौ सय करोड क्लबमा १३ सिनेमाको बारेमा

दबंग

२०१० मा रिलिज यो सिनेमाबाट सलमानले सोनक्षी सिन्हालाई बलिउड डेब्यु गराएका थिए । अभिनव कश्यप निर्देशित सिनेमाले १ सय ४५ करोडको व्यापार गरेको थियो । यसले सय करोड क्लबमा इन्ट्री गर्न जम्मा १० दिन लगाएको थियो । ४२ करोडको बजेटमा निर्मित सिनेमामा विश्व चर्चित ‘मुन्नी बद्नाम’ बोलको गीत पनि समावेश थियो । यहिँ सिनेमाबाट सलमान चुलबुल पाण्डेको नाममा स्थापित भए ।

रेडी

अनिश बज्मी निर्देशित सिनेमा २०११ मा रिलिज भएको थियो । सिनेमामा सलमानले असिन ठोट्टुमकलसँग जोडी बाँधेका थिए । पारिवारिक कथामा निर्मित सिनेमामा एक्सन दृश्य पनि भरपुर प्रयोग गरिएका थिए । भारतीय बक्सअफिसमा १ सय २० करोडको व्यापार गरेको सिनेमाले १२ दिनमा सय करोडको माइलस्टोन पार गरेको थियो । ४० करोडको बजेटमा निर्मित सिनेमाको ‘ढीन्का चीका’ बोलको गीत अहिले पनि चर्चित छ ।

बडीगार्ड

२०११ मै रिलिज भएको सिनेमामा सलमानको अपोजिट करीना कपूर थिइन् । १ सय ४२ करोड कमाएको सिनेमा जम्मा ८ दिनमै सय करोड क्लबको सदस्य बनेको थियो । सिद्दिकी निर्देशित सिनेमा ६० करोडमा निर्माण भएको थियो ।

एक था टाइगर

२०१२ मा रिलिज भएको ‘एक था टाइगर’ले पहिलो दिन ३० करोड माथिको कलेक्सन गर्दै रेकर्ड राखेको थियो । यो सिनेमाले ६ दिनमै सय करोड कमाउदै लाइफटाइम कलेक्सन १ सय ९८ करोड पुर्याएको थियो । ७५ करोडको बजेटमा निर्मित सिनेमालाई कबिर खानले निर्देशन गरेका थिए ।

दबंग २

२०१२ मै मै रिलिज सिनेमाले पनि सय करोड माथिको व्यापार गर्न सफल भयो । यो सिनेमामा सोनाक्षी पुन: सलमानसँग दोहोरिएकी थिइन् । ६ दिनमै सय करोड माथि कमाएपनि पनि सिनेमाको लाइफटाइम कलेक्सन १ सय ५९ करोड मात्र पुग्यो । अरबाज खान निर्देशित सिनेमा ८० करोडको बजेटमा निर्माण भएको थियो ।

जय हो

‘दबंग २’ रिलिज भएको दुई वर्ष पछी ‘जय हो’ प्रदर्शनमा आयो । तर, सिनेमाले बक्सअफिसमा आशासित व्यापार गर्न सकेन । यो सिनेमामा सलमानले डेजी शाहलाई डेब्यु गराएका थिए । १ सय १० करोडको बजेटमा निर्मित सिनेमाले जम्मा १ सय ११ करोड मात्र कमाउन सक्यो । सोहिल खान निर्देशित सिनेमाले १० दिनमै सय करोड क्लबमा इन्ट्री मारेको थियो ।

किक

‘जय हो’ले आशासित व्यापार नगरेपनि ‘किक’ले भने सलमानको यो वर्ष निरास बनाएन । जम्मा ५ दिनमै सय करोड क्लबमा इन्ट्री गर्दै ‘किक’ सलमानको २ सय करोड कमाउने पहिलो सिनेमा बन्यो । यसले लाइफटाइम २ सय ३३ करोड बढीको व्यापार गर्यो । साजिद नाडियडवाला निर्देशित सिनेमा १ सय ४० करोडको बजेटमा निर्माण भएको थियो ।

बजरंगी भाइजान

२०१५ मा रिलिज भएको यो ‘बजरंगी भाइजान’ सलमानको करियरकै ३ सय करोड कमाउने पहिलो सिनेमा थियो । यसले भारतीय बक्सअफिसमा ३ सय २० करोड माथि कमाएको छ । यसको रेकर्ड २०१७ मा रिलिज  ‘टाइगर जिन्दा हे’ले तोडेको थियो । कबिर खान निर्देशित सिनेमाले ३ दिनमै सय करोड कमाएको थियो । ९० करोडको बजेटमा निर्मित सिनेमालाई समिक्षकले पनि उकृष्ट ठहराएका थिए ।

प्रेम रतन धन पायो

यो सलमानको करियरमा पहिलो दिन सर्वाधिक कलेक्सन गर्ने सिनेमा हो । ४० करोडको ओपनिङ गरेको सिनेमा पनि ३ दिनमै सय करोड क्लबमा इन्ट्री गरेको थियो । तर, मिस्रित समिक्षाका कारण सिनेमाको लाइफटाइम कलेक्सन २ सय ७ करोड भन्दा माथि पुग्न सकेन । २०१५ मै रिलिज भएको यो सिनेमालाई सूरज आर. बर्जत्यले निर्देशन गरेका थिए ।

सुल्तान

२०१६ मा रिलिज भएको सिनेमाले लाइफटाइम ३ सय करोड छुँदा ३ दिनमै सय करोड क्लबमा इन्ट्री गरेको थियो । अलि अब्बास जफर निर्देशित सिनेमा जम्मा ९० करोडको बजेटमा निर्माण भएको थियो । सिनेमामा सलमानको अपोजिट अनुष्का शर्मा थिइन् ।

ट्युबलाईट

२०१७ मा रिलिज भएको यो सिनेमा असफल सिनेमाको सुचीमा छ । तर, यसले पनि ६ दिनमै सय करोड क्लबमा इन्ट्री गर्दा लाइफटाइम १ सय २१ करोडमै खुम्चियो । कबिर खान निर्देशित सिनेमा १ सय ३५ करोडको बजेटमा निर्माण भएको थियो ।

टाइगर जिन्दा हे

यो सलमानको करियरकै हाइएस्ट नेट ग्रसर हो । यसको घरेलु कलेक्सन ३३९.१६ करोड छ । साथै बलिउडको सर्वाधिक कमाइ गर्ने सिनेमाको दोस्रो नम्बरमा छ । ३ सय ८७ करोड माथि कमाएको ‘दंगल’ बलिउडको सर्वाधिक कमाइ गर्ने सिनेमा हो । १ सय ५० करोडको बजेटमा निर्मित सिनेमालाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् ।

रेस ३

प्रदर्शनरत ‘रेस ३’ चार दिने कलेक्सन १२०.२४ करोड छ । यसले २ सय करोड सजिलै छुन सक्ने अनुमान गरिएको छ । रेमो  डिसुजा निर्देशित सिनेमा १ सय ५० करोडको बजेटमा निर्माण भएको हो ।