महिला हिंसाविरुद्ध उभिएकी रेखा !

महिला हिंसाविरुद्ध उभिएकी रेखा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नायिका रेखा थापासँग एकसाथ आएका नायिकाहरु सिनेमामा त्यति सक्रिय छैनन् । रेखा भने निरन्तर नेपाली सिनेमा क्षेत्रमा सक्रिय भएर लागिपरेकी छिन् । पछिल्लो समय उनी महिला हिंसा विरुद्धका अभियानमा अझ बढी सक्रिय देखिन्छिन् ।

त्यसो त पहिलेदेखि नै महिला सशक्तीकरणको पक्षमा उभिने नायिकामा रेखा अग्रपङ्तिमा आउँछिन् । चाहे उनले अभिनय गरेका सिनेमा होऊन्, या आफैले निर्माण गरेका सिनेमा नै किन नहोऊ्न् । ती सिनेमामा महिलाको विषयलाई उनले कुशलतापूर्वक उठाउन खोजिरहेकी हुन्छिन् ।

यतिबेला सिनेमा घरमा प्रदर्शन भइरहेको चलचित्र ‘मालिका’ मा पनि उनले यस्तै महिला हिंसाको मुद्दा उठाएकी छिन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनासँग मिल्दा घटना नेपालमा दैनिकजसो घट्ने गर्छन् । यस्ता घटनामा कमी ल्याउन सिनेमाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने रेखाले बताउँदै आएकी छिन् ।

‘म पहिलेदेखि नै महिला हिंसाविरुद्ध बोल्दै आएकी छु, हामीले हरेक माध्यमबाट महिलामा चेतना फैलाउने प्रयास गर्नुपर्छ’, रेखा भन्छिन्, ‘मेरो सिनेमाले विकट गाउँका चेलीलाई सन्देश दिन्छ भने सिनेमा किन नबनाउने ?’

यसपटक उनले ‘मालिका’ मा जाजरकोटका दुर्गम गाउँमा हुने बालविवाह र महिला हिंसाका घटनालाई कथा बनाएकी छिन् । जुन सिनेमा यतिबेला हलहरुमा चलिरहेको छ ।

यसअघि रेखाले निर्माण गरेका सिनेमा रुद्रप्रिया, हिम्मतवाली, रामप्यारी लगायतका सिनेमामा पनि महिला हिंसाकै विषय थियो । ‘मालिका’ मा पनि त्यही विषयलाई निरन्तरता दिएकी छिन् रेखाले । ‘मालिका’ मा उनले जाजरकोटकै बालिका कमला ओलीलाई मुख्य भूमिकामा अभिनय गराएकी छिन् । कमला जया पात्रको भूमिकामा देखिन्छिन् उक्त सिनेमामा । गत शुक्रवारबाट प्रदर्शनमा आएको ‘मालिका’ को निर्देशन पनि स्वयम् पनि रेखाको नै रहेको छ । सिनेमामा सरस्वती थापा र नर कार्कीको लगानी छ ।