भेट्रान निर्देशकको रोजाई रणवीर, आगामी सबै सिनेमा प्रतिक्षित

भेट्रान निर्देशकको रोजाई रणवीर, आगामी सबै सिनेमा प्रतिक्षित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड स्टार रणवीर सिंह आउने दिनका सुपरस्टार हुन् । मिहिनेत र अभिनयबाट सबैको ध्यान खिच्न सफल रणवीर भेट्रान निर्देशकको पहिलो रोजाई भएकाले, यसले भविष्यको सुपरस्टार हुने सङ्केत गर्छ ।

निर्देशक संजयलीला भन्सालीका उनि ‘फेवरेट’ हुन् । ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ जस्ता एतिहाँसिक सिनेमामा अभिनयको जादु पस्किसकेका रणवीर निर्देशक जोया अख्तरका पनि ‘फेवरेट’ जस्तै हुन् । जोयाको ‘दिल धड़कने दो’ खेलेका रणवीर उनकै ‘गली व्वाय’मा व्यस्त छन् । त्यस्तै अर्का निर्देशक रोहित सेट्टी र करण जोहरको आगामी सिनेमा ‘सिम्बा’मा पनि रणवीर रहनेछन ।

निर्देशक कबिर खानको ‘१९८३ द फिल्म’मा पनि रणवीरले मुख्य भूमिका निर्वाह गर्दैछन् । कबिरको पछिल्लो सिनेमा ‘ट्युबलाइट’ हो । १९८३ भारतीय क्रिकेट इतिहाँसका लागि महत्वपूर्ण मानिन्छ । किनकी, यहिँ वर्ष पहिलो पटक भारत कपिलदेवको कप्तानीमा विश्वकप क्रिकेटको ट्रफी घर भित्र्याएको थियो । सिनेमामा रणवीरले कपिलदेवको भूमिका निर्वाह गर्नेछन् । निर्देशकले बताए अनुसार यो सिनेमाको लागि रणवीरनै पहिलो रोजाई थिए ।

‘१९८३ द फिल्म’को घोषणामा क्रिकेटको टिम र कबिर खानको साथ रणवीर

रणवीरले अहिले जो पनि निर्देशकको रोजाईमा परिरहेका छन् , ति निर्देशकसँग अमिताभ बच्चन, आमिर खान, शाहरुख खान, सलमान खान, अजय देवगण, ऋतिक रोशन जस्ता अभिनेताले काम गरिसकेका छन् ।

आदित्य चोपडाको ‘धूम ४’मा पनि रणवीरलाई लिने खबरहरु बाहिरिसकेका छन् । तर, निर्माण टिमबाट आधिकारिक सुचना बाहिरिएको छैन ।

२०१० मा ‘ब्याण्ड बाजा बारात’बाट डेब्यु गरेका रणवीरका त्यस यता ९ सिनेमा रिलिज भैसकेका छन् । त्यस मध्ये ‘किल दिल’लाई छोडेर सबै बक्सअफिसमा हिट छन् । ‘ब्याण्ड बाजा बारात’बाट फिल्म फेयर अवार्ड उचालेका रणवीरले ‘बाजिराव मस्तानी’बाट उत्कृष्ट अभिनेताको अवार्ड आफ्नो पोल्टामा पारिसकेका छन् । ‘पद्मावत’मा निर्वाह गरेको अलाउद्दीन खिलजी भूमिकाबाट अहिले चौतर्फी प्रंसंसा बटुलिरहेका छन् ।

‘पद्मावत’ले ११ दिनमै २ सय करोड माथिको व्यापार गरिसकेको छ । २०१० यता बलिउडमा डेब्यु गरेका अभिनेताको हकमा यो नै बक्सअफिसको ठुलो सफलता हो ।