६० सालको सम्झौता खारेज गर्दै निर्माता र प्रदर्शकविच नयाँ सम्झौता

६० सालको सम्झौता खारेज गर्दै निर्माता र प्रदर्शकविच नयाँ सम्झौता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २०६० सालमा भएको निर्माता र प्रदर्शकविच भएको सम्झौता खारेज गर्दै नेपाल चलचित्र संघ र नेपाल निर्माता संघविच नयाँ सम्झौताहरु भएका छन् ।

केहि दिन अगाडी निर्माता संघले प्रदर्शकहरुको मनोनानी भन्दै २०६० सालको सम्झौतालाई स्मरण गरेर अगाडी बढ्न दवाब दिँदै आएको थियो । समयमै वार्ता नभए आन्दोलनदेखि सिनेमा प्रदर्शनमा पनि रोक लगाउने घोषणा गरेको निर्माता संघले वार्तामा सहमति जुटेपछी आफ्ना कार्यक्रम स्थगित गरेको छ । अब जेठ ४ देखि कुनै पनि सिनेमा प्रदर्शनमा रोक लगाइने छैन ।

सोमबार राजधानीमा एक प्रेसमिटका विच चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले १८ बुँदे सम्झौता पत्र आदानप्रदान गर्दै समस्या सुल्झिएको जानकारी गराए ।

भास्कर ढुंगाना संयोजक रहेको चलचित्र संघको कार्यदल सदस्यमा नरेन्द्र महर्जन, गोपलकाजी कायस्थ, त्रिरत्न मानन्धर र भारत अग्रवाल रहेका छन् । भने, केशब भट्टराईको संयोजकत्वको निर्माता संघ कार्यदलमा छविराज ओझा, दीपकराज गिरी, निश्चल बस्नेत,  अर्जुनकुमार डंगोल र भुवन केसी सदस्य छन् ।

यस्तो छ सम्झौता पत्र

१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर, ब्यानर, पोष्टर र स्टाण्डीसमेतको प्रचार प्रसार समाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने गराउनेछ ।

२. मल्टीप्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र अनिवार्य रुपमा भुक्तानी गर्नु पर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ता भित्र भुक्तानी गर्नु पर्नेछ । यो अवधि भित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जाना सहित कारबाही गर्ने गराइनेछ ।

३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाबसमेत उपलब्ध गराउनु पर्नेछ ।

५. चलचित्र घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइने छैन ।

६. काठमाण्डौ उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर रु. २५० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिनेछ । उपत्यका बाहिरको हकमा टिकट दर रु. २०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।

क. मल्टीप्लेक्स चलचित्र घरहरुको नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत । दोश्रो हप्ता ४५ प्रतिशत तेश्रो हप्ता ४० प्रतिशत चौथो हप्ता देखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउनेछ ।

ख. सिंगल चलचित्र घरको नेट शेयर बाँडफाँड पचास पचास प्रतिशतको आधारमा हुनेछ ।

ग. उपत्यका भित्र गोपीकृष्ण मुविजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल तथा बारही मुविजको क हललाई मल्टीप्लेक्स सरहको शेयर बाँडफँड गरिनेछ ।

घ. उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराही चलचित्र घरको क र ख लाई मल्टीप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।

ङ. बुँदा नं ६ मा उल्लेख भए बमोजिम अन्य चलचित्र घरहरुले भौतिक पूवाधार पूरा गरेमा मल्टीप्लेक्सको मान्यता हुनेछ ।

७. नेपाल चलचित्र निर्माता संघको आधिकारिक सदस्यलाई नेपाल चलचित्र संघले मान्यता दिइनेछ । नेपाल चलचित्र संघका आधिकारिक सदस्यलाई नेपाल चलचित्र निर्माता संघले मान्यता दिइनेछ ।

८. निर्माता र वितरक तथा वितरक र प्रदर्शकको बीचमा चलचित्र प्रदर्शन अगावै अनिवार्य रुपमा सम्झौता गर्नु पर्नेछ । सम्झौताको नमूना संयुक्त कार्यदलले तयार गर्नेछ ।

९. चलचित्र घरले निर्माता वा वितरकको अनुमति विना पास जारी गर्न पाइने छैन । यस सम्बन्धमा विवाद भएमा कार्यदलमा छलफल गरिनेछ ।

१० यस अघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए गरिएका सहमति र सम्झौताहरु यो सम्झौताहरु लागु भएपछि स्वतः खारेज हुनेछन् ।

११. सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यपारमा जानु पर्नेछ ।

१२. चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ । वितरकले शेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ ।

१३. बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिबद्धता रहेकोछ ।

१४. यो सम्झौता मिति २०७५ साल जेष्ठ ४ गते देखि लागु हुनेछ ।

१५. यो सम्झौताको अवधि २ (दुई) वर्षको हुनेछ ।

१६. डि. सि. पी. फाइल तथा भि. पी. सी. र के डी. एम. को विषयमा सरोकारवालासंग दुबै पक्षले छलफल गरी निर्णय गरिनेछ ।

१७. यो सम्झौतालाई अक्षरसः पालना गर्ने गराउने विषयमा दुबै पक्षले प्रतिवद्धता व्यक्त गर्दछौँ ।

१८.निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्न सकिनेछ ।