द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ले लामो समय पश्चात दर्शक हलसम्म बटुल्न सफल भएको छ । नेपालबाट २, हलिउड र बलिउडबाट १/१ गरि चार सिनेमा रिलिज भएको यो सातामा ‘म यस्तो गीत गाउँछु’ले बक्सअफिसमा सबैलाई उछिनेको छ ।
देशभर उत्साहजनक व्यापार गरिरहेको सिनेमाले देशभरका थुप्रै हलमा प्रतिस्प्रधी सिनेमालाई रिप्लेस गर्दै आफ्नो पकड चौडा गरेको छ । क्युएफएक्स अन्तर्गत राजधानीका हलमा सिनेमाले बलिउड र हलिउडका सिनेमालाई उछिनेको छ । पहिलो दिन ५ शोज उपलब्ध गराएको क्युएफएक्सले भोलिका लागि शोजमा बढोत्तरी गर्दै १० पुर्याएको छ ।
‘सायद २’ र बलिउड सिनेमा ‘जग्गा जासुस’ले बक्सअफिसमा कमजोर व्यापार गरेपछि यी दुई सिनेमाको शोज कटौती गर्दै क्युएफएक्सले ‘म यस्तो गीत गाउँछु’को शोजमा बढोत्तरी गरेको हो ।
राजधानी बाहिरका क्युएफएक्स अन्तर्गतका सिनेप्लेक्स (पोखरा), बाग्येश्वरी (नेपालगञ्ज) र जल्मा (चितवन) पनि ‘म यस्तो गीत गाउँछु’लाई अन्य सिनेमाको तुलनामा बढी शोज उपलब्ध बनाएको छ।
त्यस्तै सिभिल मलबाट शनिबार बेलुका ‘स्पाइडरम्यान: होम कमिङ’को शोज कटौती गरेर ‘म यस्तो गीत गाउँछु’ प्रदर्शन गरिएको थियो । सुदर्शन थापा निर्देशित सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएसँगै ‘म यस्तो गीत गाउँछु’को व्यापार अझ आक्रामक बन्दै गैरहेको छ ।
यो सांगीतिक प्रेमकथामा पल शाह, पुजा शर्मा, सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया