अब विदेश यात्रामा ‘इन्टु मिन्टु लण्डनमा’

अब विदेश यात्रामा ‘इन्टु मिन्टु लण्डनमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ले अहिले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । प्रदर्शनको सुरुवाती दुई दिन बम्पर व्यापार गरेको सिनेमाले सिगंल हलमा भन्दा मल्टिप्लेक्स हलमा दर्शकोको राम्रो साथ पाइरहेको छ ।

तीन दिने विकेन्ड कलेक्सन २ करोड ग्रस रहेको सिनेमाले घरेलु बजारबाट आफ्नो लगानी सुरक्षित गर्न अझै लामो दौड दौडनु पर्नेछ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइपसँगै स्टार कास्टका कारण सिनेमा नेपालबाटै लगानी सेभ हुने निर्माण टिमको विश्वास छ ।

अभिनेता धिरजलाई डेब्यु सिनेमाले स्टारको दौडमा उभ्याएको छ भने फेरि एकपटक साम्राज्ञीले आफ्नो स्टारडम प्रमाणित गरेकी छन् । यस्तै, ‘रानी’ र ‘मेरो मामु’ सिनेमाबाट दर्शकमाझ चनिन नसकेका अभिनेता सारुक ताम्राकारका लागि उक्त सिनेमा करियरको ‘टर्निङ पोइन्ट’ बनेको छ ।

सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ ले नेपालमा आशातित व्यापार गर्दैगर्दा अब विदेश प्रदर्शनको थालनी गर्ने भएको छ । निर्देशक रेनाशा वान्तवा राईले दर्जन बढी देशमा सिनेमाको प्रदर्शन हुन लागेको जानकारी दिइन् । केही देशमा सिनेमाको प्रदर्शन मिति पनि तय भइसकेको छ ।

अक्टूबर ११, १२ र १३ तारिखमा फिल्म अष्ट्रेलियामा प्रदर्शन हुँदैछ । यस्तै, अक्टूबर २१ मा कोरिया, अक्टूबर २९, ३० र ३१ मा लण्डन, नोभेम्बर ३ मा पोल्याण्ड, नोभेम्बर ९ मा हङकङ र नोभेम्बर १५ मा डेनमार्कमा सिनेमा प्रदर्शन हुने कन्फर्म भएको छ । सिंगापुर, जापान, अमेरिका, ब्रुनईमा पनि सिनेमा प्रदर्शनका लागि कुरा भइरहेको निर्देशक राईले जानकारी दिइन् । उनका अनुसार, नेपालमा सिनेमाको कलेक्सन र माउथ पब्लिसिटीका कारण विदेशमा डिमान्ड बढ्दो छ ।