फिल्मी संगीतमा अर्जुनदृष्टि

फिल्मी संगीतमा अर्जुनदृष्टि

द सिनेमा टाइम्स
0
Shares

२०७४-संयोग भनौं, अर्जुन पोखरेलसँग उनकै अनुराग संगीत विद्यालयमा कुराकानीका लागि पुग्नु केहीअघि मात्रै आफ्नै संगीतमा उनले गाएको ‘म यस्तो गीत गाउँछु’ फिल्मको गीत ‘किन आजकल तिम्रो मन मैलो भो…’ युटयुब रिलिज भएको थियो । युटयुबमा आएका लगभग शतप्रतिशत सकारात्मक प्रतिक्रियाले उनी चंगा भइरहेका थिए ।

हेर्दै फिल्मको हिरो लाग्ने अर्जुन १७ वर्षअघि चितवनबाट राजधानी कुन उद्देश्यले छिरेका थिए होलान् ? संगीतमा ९० प्रतिशतभन्दा बढी मान्छे सुरुमा गायक/गायिका बन्छु भनेरै छिर्छन् । उही फिल्ममा नायक/नायिका बन्छु भनेर छिरेजस्तै । अर्जुन पनि बहुसंख्यकमै पर्थे । भने, ‘मचाहिँ घरदेखि नै आमाबाबुको शैलीमा गीत र भजन गाएर हिँड्थें ।’

उनका बुबा बाबुराम वाचनशिरोमणि पण्डित नारायण पोखरेलका साथी थिए । ‘त्यस बेला भजनमा पनि प्रतिस्पर्धा हुन्थ्यो,’ उनले सुनाए, ‘दुई/तीनवटा पार्टीबीच कसकोमा दर्शक बढी तान्ने भन्ने होडबाजी चल्थ्यो । अरू पार्टीलाई जित्नका लागि बुबाले हनुमान निकाल्नेदेखि बालनका विभिन्न शैलीको तयारी घरदेखि नै गरेर जानुहुन्थ्यो । र, बुबाहरूले हारेको मैले कहिल्यै थाहा पाइनँ । सातआठ कक्षा पढ्दादेखि नै बुबाहरूको भजनमा नाच्न र खैंजडी बजाउन पुग्थें । पछि भजन गाउन पनि रहर लाग्दै आयो ।’

आमा मन पनि तीज कार्यक्रम र रत्यौलीमा एकदम अब्बल । अर्जुन आमासँग लागेर रातभर–रातभर मादल बजाउँथे । भने, ‘मेरो बाल्यकाल नै नेपाली लोकपनले छोप्यो ।’

एक दिन अर्जुनलाई फोन आयो, ‘हामीले एउटा फिल्म बनाउन लागेका छौं । भोलि नै तीनटा गीत दिनुपर्‍यो । सक्नुहुन्छ ?’ गीत नै गीतको चाङमा बसेका अर्जुनले नसक्ने कुरै थिएन । पहिलो पटक उनले ‘दिलमाया’ का लागि ब्रेक पाए । फोन गर्ने थिए राजु गिरी, जो आफैं पनि सोही फिल्मबाट निर्देशनमा डेब्यु गर्दै थिए । पछि ‘छुट्छ कि साथ…’ ले सीआरबीटीबाटै १५ लाख रुपैयाँ कमाइदियो, जब कि फिल्मको बजेट पनि त्यति थिएन ।

अर्का निर्देशक दिवाकर भट्टराईले पनि पहिलो फिल्म ‘मेरो जीवनसाथी’ बनाउँदै थिए । अर्जुनलाई लिए । फिल्म खासै चलेन तर अर्जुनको संगीत रहेको ‘सरर बेगमारी बेनीको बस आयो…’ गीत चल्यो । राजुले ‘बिन्दास’ बनाउने भए । अर्जुनलाई नदोहोर्‍याउने कुरै थिएन । ‘बाटो मोडेर गयौ…’ ले भने अर्जुनलाई बाटो नमोड्नुपर्ने गरी जमायो । पछि उनै राजुको ‘बिन्दास २’ बाट ‘सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छयौ रे…’ ले त तहल्कै मच्चायो ।

गीत चले तर अर्जुन अन्य ब्यानरमा भने चलेनन् । कारण थियो, ‘अश्लील’ फिल्म बनाउने टयाग पाएका राजु गिरीले ल्याएको भन्ने । त्यो बेला नै अर्जुनले म्युजिक पढाउँथे र लोकगीतको एरेन्ज गर्थे । ‘मैले लोकगीतको एरेन्ज गर्न नछोडेको भए मान्छेले मलाई कम चिन्थे होलान्, तर आर्थिक हिसाबले अहिलेभन्दा धेरै माथि हुन्थें,’ उनले टर्निङ प्वाइन्टबारे भने ।

अर्जुन २०६१ मै सिन्धु मल्लसँग ‘सानी मोरी मलाई मन पर्‍यो…’ लोकगीत गाएर गायक बनेका मात्रै थिएनन्, पहिलो गीतबाटै लोकगायकको कालिका एफएम अवार्ड पाएका थिए । तर उनले लोकगीतमा संगीत दिन चटक्कै छोडिदिए । भने, ‘लोकगीतमै रमाइरहें भने लोकगायकभन्दा केही हुँदिनँ भन्ने लागेर गाउन ठयाक्कै छोडें । हुन त मेरो रगतमै लोकसंगीत छ । तर फिल्म संगीतमा विविधता देखेरै यता छिर्ने कोसिसमा लागेको हुँ ।’

दिवाकरले पनि अर्जुनलाई ‘स्टुपिड मन’ मा दोहोर्‍याए । अर्जुनकै शब्द–संगीत रहेको ‘तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्…’ खुबै चलिदियो । ‘त्यसपछि भने मान्छेहरूलाई अर्जुनले राम्रै काम गर्दो रहेछ है भन्ने भयो,’ अर्जुनले सुनाए । त्यसपछि गीतहरू मात्रै हिट भएनन्, अवार्डमा पनि अर्जुन उत्कृष्ट हुन थाले । एकै वर्ष गीतकारसहित संगीतमा विभिन्न आठ अवार्ड जिते । तर अझै खुलेर राम्रोसँग काम गर्न पाइरहेका थिएनन् उनले । काममा अब्बल हुँदाहुँदै पनि उनी आफैंलाई प्रमोसन हुने खालको फिल्म चाहिरहेको थियो । ‘प्रेमगीत’ लिएर सुदर्शन थापा अर्जुनकहाँ आइपुगे । यसअघि अर्जुनले ‘ड्रिम्स’ का लागि भनेर बनाएको गीत स्टकमै थियो । पछि त्यही गीत ‘प्रेमगीत’ को टाइटल ट्रयाक ‘म यस्तो गीत गाउँछु, जुन प्रेमगीत बनोस्…’ बनेर उस्तै बजार पिट्यो । एकै वर्ष अर्जुनले ११ अवार्ड जिते ।

संगीतमा बीम्युज गरेका अर्जुनले नेपाल संगीत महाविद्यालयमा पाश्चात्य संगीत पनि पढे । सुनाए, ‘त्यो बेला म शास्त्रीय संगीतमा यति डुबें कि आत्मा त यहाँ पो रहेछ भन्ने भयो । पछि किबोर्ड पढ्न थाल्दा विदेशी गीत सुन्न थालेपछि हेभी मेटलमा पनि इन्जोय गर्न थालें । त्यसमा पनि अर्कै खालको स्वाद रहेछ । कति संगीत त्यसै सुन्दै आनन्द लाग्छ भने कति बुझेपछि आनन्द लाग्छ ।’ तर उनको जग त लोकगीत नै हो । ‘नेपालमा जति पनि रक ब्यान्ड छन्, तिनका ९० प्रतिशत हिट गीत पनि सबै लोकगीत नै हुन्,’ अर्जुनले तर्क गरे, ‘फरक यत्ति हो, गिटार र ड्रममा गाइएको हुन्छ । आर्यन अनुहारको मैले राई, लिम्बूको ड्रेस लगाउँदैमा मेरो अनुहार त राई, लिम्बूजस्तो देखिँदैन नि । रक हुन कम्पोजिसन नै चाहिन्छ ।’ तर त्यसको कमी देख्छन् उनी ।

संगीतका लागि अर्जुनले पनि धेरथोर संघर्षको भोटो फटालेका छन् । संगीत सृजनामा लागेको १२ वर्षसम्म उनले एक कौडी कमाएनन् । बरु नपढेका साथीहरू मम पसल, कुखुरा फार्म खोलेर गाडी चढेर हिँड्ने भइसकेका थिए । तर अर्जुन भने तिनै साथीभाइले नचिनून् भनेर मास्क लगाएर सडकमा एक्लै हिँड्थे । ‘संगीतमा लागेर खै त के गरिस् भन्थे सबैले,’ तर त्यो सबैमा अर्जुनका बाबुआमा भने थिएनन्, ‘त्यो बेला पनि मेरो घरबाट अन्य पेसामा लागेर पैसा कमाउन कहिल्यै दबाब आएन । त्यसैले त आज म यहाँ छु ।’

सहरको संघर्ष अजिबको थियो अर्जुनको । हार्मोनियम बजाउन जहाँ पायो त्यहीं नदिने । त्यसैले विष्णुमती किनारको एउटा घरमा एक्लै डेरा गरी बस्थे । एक्लोपनाले यति गाँजेको थियो, अर्जुन राति किचकन्नीसँग वार्ता गरेको गीत लेख्थे । भने, ‘त्यो घरमा हररात मलाई ऐंठन हुन्थ्यो ।’ त्यसो त अर्जुनले यसरी बस्नुपर्ने खालको परिवारको अवस्था त थिएन, तर पनि फोन गरेर पैसा माग्न उनलाई मरेजस्तो लाग्थ्यो ।

घरको एक्लो छोरो भएर पनि अर्जुनमा संगीतमा केही गर्ने अर्जुनदृष्टि थियो । आखिर संगीतको भूत उनलाई बच्चैदेखि पसेकै थियो । टीभीमा कसैले गाएको देखेर उनकी आमाले तैंले पनि यसरी नै गाउनुपर्छ भनिरहँदा अर्जुनमा जोश बढ्थो । स्कुलमा रोधी मास्टरको उपमा पाएका उनी चितवनमै छँदा लोकदोहोरीमा पनि पहिलो भएका थिए । चल्तीका गायक/गायिकाका फोटा क्यासेट कभरमा देख्दा उनलाई पनि रहर लाग्थ्यो ।

गायक बन्ने सपनासहित राजधानी छिरेका अर्जुन संगीतकारमा चिनिए । किन त्यागे सपना ? ‘बाटो मोडेर गयौ…’ गर्दाको एउटा घटना सम्झिए उनले । उक्त गीतका लागि एक जना राम्रै चलेका गायकलाई अर्जुनले फिट नभएको बताए । कम्पोज गर्दा नै शिव परियारलाई गवाउँछु भन्ने सोचेका थिए । ती गायकले अर्जुनलाई नै संगीतकारबाट निकाल्न प्रयास पनि गरे । फिल्मका निर्देशक राजु गिरीले त अर्जुललाई नै गाउन पनि भनेका थिए । ‘तर त्यो गीतलाई मैले भन्दा बढी शिवले न्याय गर्न सक्छन् भन्ने लाग्यो,’ उनले भने, ‘मलाई त आफ्नो संगीत भएको गीतलाई न्याय चाहिएको थियो ।’ आखिर अर्जुन र उनको गीत दुवैले न्याय पाए । शिवले गाए । पछि पनि ती गायकले अर्जुनलाई गाउन दिए धेरै सहयोग गर्दिने लोभ देखाए । अर्जुनले पनि भनिदिए रे, ‘तपाईंको पेसा गायन हैन । तपाईंलाई फ्लप हुँदा समस्या छैन, म फ्लप हुँदा धेरैपछि धकेलिन सक्छु ।’

गीत हिट भयो । अहिले पनि त्यो घटनाका साक्षीहरू भन्छन् रे, ‘त्यो बेला तपाईंले आफैंले गाएको भए अहिले हिट गायक भइसक्नुहुन्थ्यो ।’ तर उनलाई त त्यो बेला गीतको आउटपुट राम्रो चाहिएको थियो, जसमा सफल भए पनि । पछिल्लो समय अर्जुनको डमी स्वर सुनेकै भरमा तपाईं नै गाउनुस् भन्ने धेरै छन् । भने, ‘तर म आफूलाई सुहाउने गीत मात्र गाउँछु । जबरजस्ती गायक चाहिँ बन्दिनँ । मेरो मुख्य पेसा संगीत हो, गायन हैन भन्ने नै छ मलाई । नत्र त मैले म्युजिक एरेन्ज गरेका गीत पनि सुपरहिट चलेका छन्, शब्द लेखेका पनि सुपरहिट चलेका छन् । मैले लय सृजना गरेका गीत पनि चलेका छन् । संगीतका सबै पाटामा मेरो कामलाई दर्शकश्रोताले रुचाइदिनुभएको छ । तर संगीतकारमै बढी किन चिनिएँ त ?’

अर्जुन अब भने फिल्मी गीत पनि वजनदार बनाउने प्रयासमा छन् । सुनाए, ‘चल्छ भन्दैमा हल्का गीततर्फ हामी लाग्नु हुँदैन । हामीले दर्शकश्रोतालाई विकल्प नै दिन खोजिरहेका छैनौं । अहिले आएका ९० प्रतिशत फिल्मी गीतहरू कम्पोजिसन, लिरिक्सका हिसाबले एकदम हल्का छन् । हाम्रो पुस्ताले अझ हल्का बनायो भने भोलीको पुस्ताले योभन्दा गम्भीर बनाउला वा नबनाउला ? वजनदार मात्रै दुइटा गीत चलाउन सकें भने पनि मैले शास्त्रीय संगीत सिकेको अर्थ रहला ।’

यसका लागि फिल्म नै पनि वजनदार बन्नुपर्ने अर्जुनको धारणा छ । ‘राम्रो सन्तानलाई नराम्रो ठाउँमा बिहे गरेर दियो भने सधैंको कचकच त आफैंले सुन्नुपर्छ नि ?’ त्यसो त अर्जुनको सुरुवाती दिनमा राजु गिरीसँगको जुगलबन्दीलाई नजिककाहरू त्यसै भन्छन् । तर यसमा भने अर्जुनको फरक धारणा छ । भने, ‘म फिल्मी संगीतमा छिर्न भनेर भौतारिएर हिँडेको मान्छे थिएँ । कतिपयले काम दिन्छु भनेर लात हानेर निकालेका पनि छन् । सडकमा बेहोस भएर लडेको मान्छेलाई चाहे भरियाले बोकेर हस्पिटल पुर्‍याओस् वा पजेरोमा लैजाओस्, त्यो मेरो लागि भगवान हो । त्यसैले राजु गिरी प्रति म सधैं आभारी छु । तपार्इं स्वादिष्ठ म:म बनाउनुहुन्छ भने घुम्ती पसलका पनि चलेका छन् ।’

साभार- सुशील पौडेल (कान्तिपुर दैनिक)