‘गोपी’मा वर्षाको इन्ट्री

‘गोपी’मा वर्षाको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र १ गतेबाट छायांकनको तयारीमा रहेको सिनेमा ‘गोपी’मा वर्षा सिवाकोटीको इन्ट्री भएको छ । अब सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछानेले दुई अभिनेत्रीसँग रोमान्स गर्ने भएका छन । ‘गोपी’की अर्की मुख्य अभिनेत्री सुरक्षा पन्त हुन् ।

सिनेमाका निर्देशक दीपेन्द्र लामाका अनुसार पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई काष्ट गरिएको बताए । सिनेमाको घोषणा गर्दा मुख्यकलाकारको रुपमा खगेन्द्र र सुरक्षालाई मात्रै अनुबन्धित गरिएको थियो । निर्देशक लामाका अनुसार पटकथामा सुहाउने भएकाले वर्षालाई लिइएको हो । दुई नायिका भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने नरहेको उनी प्रष्ट्याउँछन् ।

वर्षा र सुरक्षाले भर्खरै रिलिज भएको सिनेमा ‘भैरे’मा सँगै काम गरेका थिए । ‘पशुपति प्रसाद’मा खगेन्द्र दाइसँग काम गरे पनि खासै स्क्रिन सेयर गर्न पाएकी थिइन, तर ‘गोपी’मा दर्शकले उहाँ र मेरो केमिस्ट्री अलि बढी नै हेर्न पाउनुहुनेछ,’ वर्षाले भनिन् ।

वर्षाको आगमनले सिनेमामा ग्ल्यामर थपिएको महसुस गर्छिन् सुरक्षा । ‘पछिल्लो समयका सुन्दर अभिनेत्रीमध्ये एक पर्छिन् वर्षा, उनी पनि ‘गोपी’मा जोडिएको खबरले म उत्साही छु,’ सुरक्षाले बताइन् ।

आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन काठमाडौंबाट सुरु हुँदैछ । सिनेमामा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । सिनेमालाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको कार्यकारी निर्माता श्रीधरले बताए ।

न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने सिनेमाका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् । कल्याणको संगीत रहेको गीत शिव परियारले गाएका छन् भने अरु दुई गीतका गायकगायिका टुंगो लाग्न बाँकी छ ।