आकासिएको अनमोलको चर्चा

आकासिएको अनमोलको चर्चा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘होस्टेल’बाट डेब्यु गरेका अनमोल केसी सुरुवाती खुड्किलोदेखि नै चर्चामा रहने अभिनेता हुन् । लगातार ४ हिट पश्चात गत वर्ष अनमोलको ‘कृ’ रिलिज भयो ।

बक्स अफिसमा ‘कृ’ले सोचेजस्तो व्यापार नगरेपनि आफ्नो साढे ३ करोड बजेट रिकभर गरेको थियो । तर पनि ‘कृ’ले उनको करियरमा खासै असर पारेन । बरु यहिँ सिनेमा अनमोलको करियरकै सर्वाधिक चर्चित बन्यो । यसअघि रिलिज भएका सिनेमा भन्दा ‘कृ’को चर्चा चर्को र लामो रह्यो ।

सिनेमा रिलिज भएर हलबाट उत्रीसके पनि अनमोलले यहिँ सिनेमाबाट उत्कृष्ट अभिनेताको अवार्डमा बाजी मारिरहेका छन् । अझ भनौ वर्षमा एक सिनेमा मात्र गर्ने अनमोल, ‘कृ’ रिलिजको ४ महिना बित्दा ३ सिनेमामा अनुबन्धित भैसकेका छन्  भने एकमा मौखिक सहमति गरेका छन् । भुवन केसीको निर्माण र दिवाकर भट्टराईको निर्देशनमा ‘क्याप्टेन’को सुटिङमा व्यस्त भैरहेका अनमोल यसै साता अन्य दुई सिनेमामा अनुबन्धित भए । जसले सिनेमा बजार गर्म्यायो ।

पहिलो रोजाई

नेपालका ठुला कमर्सियल निर्माता/निर्देशकका पहिलो रोजाइ हुन् अनमोल । अनमोलको कमर्सियल भ्यालुलाई हेरेर ५० लाखसम्म तिर्न नहिकिच्याउने जमात ठुलै छ सिनेसर्कलमा । तर अनमोल, व्यानर/निर्देशक/ब्राण्ड जस्ता तत्व हेरेर मात्र सिनेमा साइन गर्छन । भर्खरै झरना थापाको निर्देशनमा बन्ने ‘ए मेरो हजुर ३’मा अनुबन्धित भएका अनमोलले महँगो पारिश्रमिक लिएको खबर छ । उक्त सिनेमाका अघिल्ला सिरिजले एक किसिमको ब्राण्ड स्थापित गरिसकेका छन् । बक्स अफिसमै प्रतिक्षित मानिएको ‘ए मेरो हजुर ३’मा अनमोल जोडिएसँगै झरना थापाकी सुपुत्री सुहाना थापाले डेब्यु गर्ने भएपछि सिनेमाको चर्चा अझ अकासिएको छ ।

मिलन चाम्स नेपाली सिनेमा बजार छोटो समयमै सर्वाधिक चर्चा कमाउने र सिनेमा बनाउने निर्देशक हुन् । यिनै निर्देशकले निर्देशन गर्ने अनटाइटल प्रोजेक्टका लागि अनमोल अनुबन्धित भएपछि सिनेमा बजार तरंगित भएको छ । जुन सिनेमामा अहिलेसम्मै सर्वाधिक पारिश्रमिक लिएको बताइएको छ । निर्माण पक्षले कति पारिश्रमिक दिएको नखुलाएता पनि सिनेबजारमा यति-उतिका आँकलनहरु काटिएका छन् ।

सुवास गिरीले बनाउने ‘कृ २’मा पनि अनमोलले मौखिक सहमति दिइसकेका छन् । जुन सिनेमा बन्ने क्रममा छ । तर, अनमोलले साइन गरेका छैनन् ।

बाँकी सिनेमा सेड्युलमा

तस्विर: अनमोल केसीको फेसबुकबाट

वर्षमा १ सिनेमा मात्र गर्दै आइरहेका अनमोलले किन तीन सिनेमा साइन गरे त ? के ब्याक-टु-ब्याक सिनेमा रिलिज हुँदा अनमोलको करियरमा असर नपुग्ला ? भन्ने खालका प्रश्न उब्जिदा, अनमोलले सेड्युल अनुसार सिनेमा रिलिज गर्ने सहमती गरेका छन् । ‘क्याप्टेन’ छायाँकनमा व्यस्त रहेका अनमोलले भदौदेखि ‘ए मेरो हजुर ३’ जोइन गर्ने छन् । सम्भवत: ‘क्याप्टेन’ यहिँ वर्षको बीचतिर रिलिज हुनेछ । ‘क्याप्टेन’ रिलिजको ६ महिना पछि मात्र ‘ए मेरो हजुर ३ रिलिज गरिने छ । उसो त ‘ए मेरो हजुर ३’लाई आगामी नयाँ वर्षमा रिलिज गर्ने लक्ष्य छ ।

त्यस्तै ‘ए मेरो हजुर ३’ रिलिजको ६ महिना पश्चात मिलन चाम्सको अनटाइटल प्रोजेक्ट रिलिज गर्न पाइने बताइएको छ । यो प्रोजेक्टका बारेमा बाँकी कुरा फाइनल भैसकेका छैनन् । यी तीन प्रोजेक्टले अनमोललाई आगामी २ वर्षसम्म चर्चामा ल्याइरहने छन् । र ‘कृ २’ गरेको खण्डमा यो चर्चाको समयसिमा लम्बिने छ ।