‘लभ स्टेशन’ निर्माण टिमले गर्यो मेघालाई आर्थिक सहयोग

‘लभ स्टेशन’ निर्माण टिमले गर्यो मेघालाई आर्थिक सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र २२ गतेबाट रिलिज हुने सिनेमा ‘लभ स्टेशन’को टिमले करेन्ट लागेर दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ । सिनेमाको निर्माण टिमका तर्फबाट मेघालाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो । ‘लभ स्टेशन’का तर्फबाट अभिनेता प्रदीप खड्कासहित अभिनेत्री जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सिनेमाका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् ।

दुबै हात गुमाएकी मेघाको हात राख्नका लागि आर्थिक सहयोगको आबश्यक्ता परेको पीडा सुनेपछि अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही र संगीतकार एलिसले लभ स्टेशनका तर्फबाट १ लाख रुपैयाँ प्रदान गरे । कलाकार शिशिर भण्डारीले जम्मा गरेको ४ लाख सहयोग पनि सोही क्रममा अभिनेता प्रदीप खड्काले मेघालाई प्रदान गरेका थिए ।

यो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्ने विश्वास प्रदीपले व्यक्त गरे । आफुले सोचेको भन्दा मेघा निकै फरक र शाहसिक पाएको पनि यी अभिनेताले बताए । यस्तै अभिनेत्री जसिताले पनि मेघाको हात राख्ने चाहना चाँडै पुरा होस भन्ने कामना गरिन् । आफ्ना प्रिय नायक, नायिकालाई घरमै भेट्न पाउँदा आफुमा पनि खुसीको सिमा नरहेको मेघाले बताईन् ।

यो सिनेमालाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशनमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, रश्मी पाण्डे, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गोविन्द शाही प्रस्तुतकर्ता रहेको सिनेमालाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।