गैंडा संरक्षणको कथा ‘खाग’को ट्रेलर रिलिज (भिडियो)

गैंडा संरक्षणको कथा ‘खाग’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन २४ गतेबाट रिलिज हुने सिनेमा ‘खाग’को ट्रेलर सार्वजनिक गरिएको छ । मौलिक कथामा सिनेमा निर्माण गर्ने निर्देशक मनोज पण्डित निर्देशित सिनेमा ‘खाग’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ ।

कमलजंग कुँवर लिखित ’गैंडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको सिनेमामा प्रविण खतिवडा प्रमुख भूमिकामा छन् । उनी सिनेमामा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि सिनेमामा मुख्य भुमिका रहेको छ ।

सिनेमाले एउटा व्यक्तिको संघर्षको कथा भन्ने निर्देशक पण्डितले बताए । ’यस सिनेमामा स्टार कलाकार छैनन्, तर कन्टेन्टमाथि हामी विश्वस्त छौं’, उनले अगाडि भने ’सामान्य कथा छ र त्यसलाई सरल ढंगबाट पस्केको छु ।’

ट्रेलर रिलिज कार्यक्रममा सिनेमासँग सहकार्य गरेको इ-सेवाले ’रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ । प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म सिनेमाको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ ।

दीपक बज्रचार्यको छायांकन रहेको सिनेमालाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । सिनेमालाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् । ‘खाग’ को ट्रेलर रिलिज कार्यक्रममा फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो । निर्देशक पण्डितले सिनेमाले पुस्तकलाई न्याय गरेको दाबी गरेका छन् ।