‘गोपी’ निर्माण टिमद्वारा उत्कृष्ट कविता प्रतियोगीहरु पुरस्कृत

‘गोपी’ निर्माण टिमद्वारा उत्कृष्ट कविता प्रतियोगीहरु पुरस्कृत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट प्रदर्शन भएको सिनेमा ‘गोपी’ले आयोजना गरेको ‘कविता लेखन प्रतियोगिता’का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । सिनेमाका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले शुक्रबार काठमाडौंमा विजेताहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा सहभागीहरूले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका थिए । प्रतियोगितामा क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनुअघि’ प्रथम, निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविता तृतिय भएको थियो ।

प्रथम, द्वितीय र तृतीय भएका कविहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गरेका हुन् । आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।

उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको छ । मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ ले सान्तवना पुरस्कार पाएका हुन् ।