‘क्याप्टेन’को ‘कर्ली कपाल’मा निरुतासँग अनमोल र भुवनको ठुम्का (फोटो फिचर)

‘क्याप्टेन’को ‘कर्ली कपाल’मा निरुतासँग अनमोल र भुवनको ठुम्का (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १७ गते रिलिज हुने सिनेमा ‘क्याप्टेन’को लोक फ्लेवरको एक गीतको छायांकन सोमबार ललितपुर स्थीत एक पार्टी प्यालेसमा गरिएको छ । चारैतिर बत्तीको झिलिमिली ‘इशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही यूवाहरु बलसँग खेल्दै थिए । त्यही विचमा उभिएका थिए, सुपरस्टार नायक अनमोल केसी उर्फ इशान खड्का । अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘क्याप्टेन’मा समावेश एक गीतको छायांकनमा यस्तो माहोल देखिएको हो ।

अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा लाग्थ्यो, उनले हरि खड्काको प्रशिक्षणमा फुटबलसँग अभ्यस्त भएका छन् । ‘कर्ली कर्ली’ बोलको गीतको छायांकनमा अनमोल केसी मात्र आकर्षणमा थिएनन् । उक्त गीतमा अनमोलका पिता तथा नायक भूवन केसी र अभिनेत्री निरुता सिंहलाई पनि दर्शकले हेर्न पाउनेछन् । यो गीतमा नायक भुवन केसी र नायिका निरुता सिंहको आफ्नैै स्टाइलले दर्शकलाई मोहित बनाउने विश्वास निर्माण टिमलाई रहेको छ ।

एसडी योगीको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायिका मेलिना राई र एसडी योगीको स्वर छ । यो गीतको भिडियोमा कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी छन् । रेनशाका अनुसार सिनेमाको ‘गीत निकै नै मिठो छ त्यसैले पनि दर्शकले केही नयाँ स्वाद पाउनुहुनेछ ।’

यता, छोरा अनमोल केसीसँग पर्दामा देखिन लागेको भूवन केसीले छोरातिर हेर्दै भन्थे–‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो ।’ भूवनले यसो भन्दा अनमोल मुुसुक्क हाँस्थे मात्र । यो गीतको बिषयमा निर्माता तथा अभिनेता भूवन केसीले भने–‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा गीत पर्दामा आउनेछ । दर्शकका लागि अनमोल, म र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास लिएको छु ।’

भूवन केसी र अनमोल केसीको जिस्क्याइमा रमाइरहेकी नायिका निरुता सिंहलाई यो गीतमा नृत्य गर्दा बेग्लै आनन्द लागिरहेको थियो । माघ महिनाको जाडोमा रातभर छायांकन गर्दा पनि निरुता थाकेकी थिइनन् । उनी भन्दै थिइन्–‘यो गीत नेपाली सिनेमाका दर्शकका लागि एउटा बेग्लै स्वाद हुनेछ ।’

सिनेमामा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सरोज खनाल, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको सिनेमामा सुदिप बरालको छायांकन छ । यो गीत केही दिनमै रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । कलाकारको पहिरनको डिजाइन स्वर्णिम राइले गरेकी हुन् ।