‘गोपी’ मैले लेख्न चाहेको जस्तो फिल्म होः सामीप्यराज तिमल्सिना

‘गोपी’ मैले लेख्न चाहेको जस्तो फिल्म होः सामीप्यराज तिमल्सिना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लेखक तथा समीक्षक सामीप्यराज तिमल्सिना पछिल्लो समय सिने पत्रकारका रुपमा भन्दा बढी स्किृप्ट राइटरका रुपमा चिनिन्छन् । एकपछि अर्को गर्दै सिनेमा लेखनमा जमेका तिमल्सिनाले लेखेका प्रायः सिनेमा व्यावसायिक रुपमा हिट छन् । ‘ड्रिम्स’ ‘नोभेम्बर रेन’, ‘ए मेरो हजुर २’, लगायत दर्जनभन्दा बढी सिनेमा लेखेका तिमिल्सिनाले पछिल्लो पटक लेखेको सिनेमा ‘नाइँ नभन्नू ल ५’ ले पनि व्यावसायिक सफलता हात पारेको थियो । तिमल्सिना यतिबेला भने ‘गोपी’ का कारण चर्चामा छन् । यो सिनेमाको स्किृप्ट तिमल्सिनाले नै लेखेका हुन् ।

यो सिनेमा चर्चामा हुनुको कारण के हो भने यो सिनेमाले सामान्य विषय उठाएको छ । यसअघिका उनका सिनेमा व्यावसायिक रुपमा बढी फोकस थिए भने यो सिनेमा आफ्नो रुचीअनुसार लेखेको सामीप्यले बताउँदै आएका छन् ।

द सिनेमाटाइम्सको कुराकानीमा लेखक तिमल्सिनाले ‘गोपी’ आफ्ना लागि पनि आशालाग्दो फिल्म भएको बताए । ‘यो सिनेमा मैले लेख्न चाहेजस्तो सिनेमा हो, किनभने पहिले मैले बजारले रुचाएका सिनेमा लेख्ने गरेको थिएँ, यसमा भने आफूले रुचाएजस्तो कथा हाल्न पाएको छु’, उनले अगाडि थपे, ‘यसको अर्थ सिनेमा घरेलु दर्शकले मन नै नपराउने भन्ने होइन, तर ट्रिट अलि फरक छ, दर्शकलाई सिनेमा मन पर्छ ।’

गोपीको ट्रेलर

आफूले अहिलेसम्म लेखेका सिनेमा दर्शकले रुचाए पनि शुभचिन्तकले भने ‘गोपी’ जस्ता सिनेमा लेख्न आग्रह गरिरहेको बताउँदै उहाँहरुलाई यो सिनेमा कोशेली भएको सामीप्यराजले स्पष्ट पारे ।

‘गोपीले दर्शकको मन जित्छ, बजारले जे चिज खोजिरहेको छ, त्यो कुरालाई हामीले उठाएका छौँ, गाई पाल्ने किसानको कथा भए पनि देशप्रेमको कथा छ,’ सामीप्यले थपे, ‘विषयका हिसाबले गाई पाल्ने किसानको विषय छानिएको छ, यद्यपि अडियन्सलाई देशमै केही गर्न खोज्ने युवाको कथाले छुन्छ, मातृभूमि र आमासमान मान्ने गाईको कथा हामीले उठाएको हौँ ।’

सिनेमाले पशु र मान्छेबीचको स्नेहलाई पनि देखाएको छ । सिनेमामा गोपीको भूमिकामा विपिन कार्कीले अभिनय गरेका छन् ।

दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको यो सिनेमालाई आरोही केसीले निर्माण गरेकी हुन् भने श्रीधर पौडेल कार्यकारी निर्माता छन् । सिनेमामा विपिनसँगै सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा लगायतका कलाकारले पनि मुख्य भूमिका निभाएका छन् ।

माघ १८ गतेदेखि नेपालभर रिलिज हुन लागेको यो सिनेमाले राष्ट्रिय मुद्दा उठाएको भन्दै केही मन्त्री तथा नेताले पनि चासो देखाएका छन् ।