शुक्रबारबाट हलमा ‘गरुड पुराण’ शोलो रिलिज

शुक्रबारबाट हलमा ‘गरुड पुराण’ शोलो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हरेक हप्ताको शुक्रबार दुई वा दुई बढी सिनेमा रिलिज भैरहेको बेला आज शुक्रबार भने एक मात्रै सिनेमा प्रदर्शनमा आएको छ । यो शुक्रबार अर्थात माघ ४ गतेबाट ‘गरुड पुराण’ले सोलो रिलिजको अवसर पाएको हो । गएको हप्तामा समेत दुई नेपाली सिनेमा ‘चौका दाउ’ र ‘भिलेन’ प्रदर्शनमा आएका थिए । कमेडी सिनेमा ‘गरुड पुराण’ सुवास कोइरालाले निर्देशन गरेका हुन् ।

शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमाले एकल प्रदर्शन पाउँछ भन्ने निर्माण टिमलाई समेत विश्वास थिएन । निर्देशक सुवास कोइराला खुसी मुद्रामा भन्दै थिए, ‘कुनै एक सिनेमा आउँछ होला भन्ने थियो तर सोलो रिलिज पाउँदैछौं । सायद सिनेमाको गीत, संगीत र ट्रेलरले पाएको राम्रो हाइपले होला ।’

हुन पनि ‘म त पिरिममा’ गीतले सिनेमाको राम्रो हाइप निर्माण गरेको थियो । साथै कमेडीले भरिएको ट्रेलरले सिनेमाप्रति दर्शकमा चासो बढाएको थियो । ‘गरुड पुराण’ले एकल प्रदर्शन पाउनुको पछाडि नाम चलेका कलाकारलाई पनि मानिएको छ । अब यसले सोलो रिलिजको फाइदा चाहिँ कति उठाउने छ ? यो भने समयले देखाउने नै छ ।

सिनेमाले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाइलो कथा उठान गरेको छ । सिनेमामा अभिनेता नाजिर हुसेन ब्यान्ड मास्टरको भूमिकामा देखिने छन् । सिनेमामा कर्मा शाक्य, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, जान्वी बोहोरा, रश्मी भट्ट, लुनिभा तुलाधर, प्रविण खतिवडा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

यही सिनेमाबाट प्रियंका सिंह ठकुरीले नायिकाको रुपमा डेब्यु गर्दैछिन् । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको सिनेमाको कथा कसम नेपालले तयार पारेका भने पटकथा तथा संवाद बिनोद खतिवडा, अकाश बराल र सुवास कोइरालाले मिलेर लेखेका हुन् । ‘गरुड पुराण’ लाई सुसन प्रजापतीले छायांकन गरेका हुन् ।