‘समर लभ’ले ल्यायो एक जोडीलाई थाइल्याण्ड घुमाउने योजना

‘समर लभ’ले ल्यायो एक जोडीलाई थाइल्याण्ड घुमाउने योजना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय प्रदर्शनको तयारीमा रहेका सिनेमा निर्माण युनिटले आफ्नो सिनेमा प्रती दर्शकको चासो बढाउन प्रचार(प्रसारमा विभिन्न उपायहरु फुराउन थालेका छन् । सिनेमा निर्माण टिमले पुरस्कारदेखि कलाकारसँग डिनर डेट म्युजिकल्ली लगायतका थुप्रै शैलीहरु प्रयोग गरिरहेका छन् । यसबीच माघ २५ बाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘समर लभ’ ले एक जोडीलाई थाइल्याण्ड घुमाउने भएको छ ।

‘समर लभ’ हेर्न हलभित्र प्रवेश गर्नका लागि काटिने टिकटको नम्बरमार्फत् एक जोडीलाई लक्की ड्रबाट विजेता घोषणा गरेर थाइल्याण्ड टुरमा पठाउने निर्देशक मुस्कान ढकालले बताए । उनका अनुसार, विजेता घोषित हुनेले सिनेमाको गीत, पोस्टर र ट्रेलर फेसबुकमा अनिवार्य रुपमा शेयर गरेको हुनुपर्ने छ भने सिनेमा हेरेको टिकट साथमा हुनुपर्नेछ ।

उनी सिनेमाको प्रचारका लागि उक्त योजना प्रभावकारी हुनेमा विश्वस्त छन् । साथै, निर्माण टिमले ’मायाको सेल्फी उत्सव’ प्रचार योजना पनि अगाडि सारेको छ । आफ्नो प्रेम वा प्रेमिकासँग खिचेको सेल्फी सिनेमाको फेसबुक पेजमा पठाए विभिन्न उपहारहरु प्रदान गरिने सिनेमाका कार्यकारी निर्माता बिनोद अधिकारीले बताए ।

सिनेमा भ्यालेनटाइन डेको अवसरमा प्रदर्शन हुँदैछ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । सिनेमाको संवाद सुबिन भट्टराई र सामीप्यराज तिमिल्सेना मिलेर लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सिनेमामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् ।

चर्चित लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित ‘समर लभ’ माथि आधारित भएर सिनेमा निर्माण भएको छ । सिनेमामा आशिष पिया ’अतित’ र रेवती क्षेत्री ’साया’ को भूमिकामा छन् । भने अभिनेत्री नम्रता सापकोटाले सुस्मिताको भूमिका निर्वाह गरेकी छन् । शिशिर भण्डारी, सुरजसिंह ठकुरी, मानसविक्रम थापालगायतका कलाकारको पनि सिनेमामा अभिनय रहेको छ ।