फागुन २ गते विवाह बन्धनमा बाधिने भए संजोग र वर्षा

फागुन २ गते विवाह बन्धनमा बाधिने भए संजोग र वर्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाकी चर्चित अभिनेत्री वर्षा राउत र उनका प्रेमी अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिने भएका छन् । प्रेमजोडीको विवाहको मिति तय भएको छ । लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले सोमवार आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको मिति घोषणा गरेका छन् । उनीहरुले यस वर्षको प्रेम दिवसको दिन अर्थात् फागुन २ गते लगनगाँठो कस्ने भएका छन् ।

’योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं’, विवाहको मिति उल्लेख भएको कार्डमा वर्षा र संजोगले भनेका छन् । लामो समयदेखि यी दुईलाई विवाहको प्रश्नले हैरान बनाइरहेको थियो । अन्ततः यो प्रश्नबाट उनीहरुले अब छुटकारा पाउने भएका छन् ।

अभिनेत्रीमा वर्षा अहिलेकी ’हटकेक’ हुन् । उनको नयाँ सिनेमा चौका दाउ अहिले हलमा प्रदर्शा भैरहेको छ । भने ’गोपी’ आउँदो माघ १८ गतेबाट रिलिज हुँदैछ । यस्तै, वर्षाले ’दाल भात तरकारी’ को छायांकन भर्खरै सकाएकी छन् । ’नाइँ नभन्नू ल ४’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी वर्षाको नाम अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीको सूचीमा आउँछ ।

संजोग कोइरालाले पनि नेपाली सिनेमामा अभिनय गरेका छन् । उनले अभिनय गरेका सिनेमाले सफलता हात पार्न नसकेपनि आफ्नो नीजि व्यवसायमा भने सफल छन् । उनको पछिल्लो रिलिज सिनेमा ’कथा काठमाडौं’ र छक्का पञ्जा ३ हो । छक्का पञ्जा ३ मा उनको विषेश भुमिका मात्रै रहेकाले चर्चा भएन । साथै, ’उत्सव’, ’बाजीगर’ लगायतका सिनेमामा पनि काम गरेका छन् । संजोग र वर्षा ५ वर्ष देखि प्रेमसम्बन्धमा थिए ।

पाँच वर्षअघि एक सिनेमाको अडिशनको क्रममा उनीहरुको पहिलो पटक भेट भएको थियो । विवाहको मिति उल्लेख भएको कार्ड दुवैले आ(आफ्नो फेसबुकमा एकसाथ सेयर गरेका छन् । विवाहको जानकारी दिएसँगै अहिले उनीहरुलाई सहकर्मी तथा सिनेमाकर्मीबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

संजोग कोइराला र वर्षा राउतलाई द सिनेमा टाइम्स परिवारको तर्फबाट शुभकामना ।