‘गोपी’ निर्माण टिमलाई श्रममन्त्री गोर्कण बिष्टको साथ

‘गोपी’ निर्माण टिमलाई श्रममन्त्री गोर्कण बिष्टको साथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गोपी’को चर्चा परिचर्चा निकै भैरहेको छ । सिनेमाको सार्वजनिक गीत, संगीत र ट्रेलरबाट सिनेमाले साकारात्मक प्रचिक्रिया पाइरहेको छ । यही सिनेमाको निर्माण टिमसँग मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भेटघाट गरेका छन् । मन्त्री विष्टसँगको भेटघाटमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी भएका थिए ।

उक्त भेटघाट समारोहमा मन्त्री विष्टले सिनेमाको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि सिनेमा निर्माण टिमसँग साक्षात्कार गर्न सिंहदरबार बोलाएको बताए । ‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने सिनेमाको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई ‘गोपी’ले समेटेको देख्दा एकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, ‘सिनेमाप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता रहेको छ ।’

मन्त्री विष्टले आफूले कहिले कही नेपाली सिनेमा हेर्न गरेको भएपनि मौलिक सिनेमा कमै बन्ने गरेको गुनासो रहेको सुनाए । मन्त्री बिष्टले नीतिगत रुपमै मौलिक सिनेमा ‘गोपी’लाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने आश्वासन दिए । भेटघाटका क्रममा उनले सिनेमाको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि मन्त्री बिष्टले निर्माण टिमसँग राखेका थिए ।

निर्देशक दीपेन्द्र लामाले श्रम मन्त्रीले सिनेमाप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । ‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, नेपालमा । त्यो समूहलाई सिनेमाको माध्यमबाटै भएपनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका छौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भएपनि सफल भएको महसुस भएको छ ।’

लेखक सामीप्यराजतिमल्सेनाले सिनेमाले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै सिनेमाले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । उनले पनि मन्त्रीको सिनेमा प्रतिको चासोले ‘गोपी’लाई मात्र होइन, मौलिक कथामा सिनेमा निर्माण गर्न चाहने थुप्रै सिनेमाकर्मीलाई प्रेरित गर्ने बताए ।

फोटो पत्रकार श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमालाई आरोही इन्टरटेनमेन्टको ब्यानरमा आरोही केसीले निर्माण गरेकी हुन् ।सिनेमामा निर्देशक दीपेन्द्र लामाको कथा, सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, रवि न्यौपानेको छायांकन, शैलेन्द्र डि कार्कीको डिओपी, गोविन्द राईको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।