यसकारण चल्नुपर्छ नम्रताको ‘प्रसाद’

यसकारण चल्नुपर्छ नम्रताको ‘प्रसाद’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जतिबेला ‘प्रसाद’ सिनेमा निर्माणको घोषणा गरियो, त्यतिबेला सिनेमाको शीर्षकले दर्शकप्रति खासै उत्सुकता जगाउन सकेको थिएन । तर जब सिनेमाको पोस्टर, गीत र ट्रेलर एकपछि अर्को गर्दै सार्वजनिक गरिए, त्यसपछि सिनेमाले दर्शकमा झनभन्दा झन् उत्सुकता थप्दै गयो । अझ त्यसमाथि अभिनय राम्रो गर्ने भनेर रुचाइएका कलाकारहरु विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायतका कलाकारको शीर्ष भूमिकासमेत रहेकाले सिनेमा सफल हुने गियर अझ बढिरहेको छ ।

यस वर्षको प्रतीक्षित चलचित्रमध्ये एक ‘प्रसाद’ किन चल्नुपर्छ ? केही कारण यस्ता छन्ः

डेढ वर्षपछि नम्रता पर्दामा

सबैलाई थाहा भएको कुरा हो, नायिका नम्रता श्रेष्ठ खासै धेरै सिनेमामा अभिनय गर्न रुचाउँदिनन् । उनी जुन सिनेमामा अभिनय गर्छिन्, ती सिनेमामा उनले आफूलाई अब्बल साबित गर्छिन् । दर्शकले उनलाई लभस्टोरी सिनेमामा बढी नोटिस गरेपनि उनी हरेक खालका सिनेमामा फरक–फरक भूमिकामा अभिनय गर्दै आइरहेकी छिन् । सिनेमा ‘प्रसाद’ मा उनी विपिन कार्कीकी पत्नीको भूमिकामा देखिएकी छिन् ।

ट्रेलर र गीतमा हेर्दा उनी आफ्ना पतिलाई निकै माया गर्ने पत्नीका रुपमा हुन्छिन् । उनको अभिनयको यतिबेला तारिफ भइरहेको छ । पहिलेको काम र उनले सिनेमाको ट्रेलरमा देखाएको क्रेजले पनि यो सिनेमा चल्नुपर्छ ।

निर्देशकको तारिफयोग्य काम

त्यसो त कैयन् सिनेमा ट्रेलर तथा गीतबाट निकै चर्चामा हुन्छन् तर सिनेमा रिलिज भएपछि भने तारिफ पाउनको साटो गाली पाउँछन् । निर्देशक दिनेश राउतले पनि यो सिनेमाका लागि निकै मेहनत गरेको बताउँदै आएका छन् । उनीसँगै काम गरेका टिमले पनि निर्देशक राउतको कामको खुलेरै तारिफ गरिरहेका छन् ।

यस अर्थमा पनि उनले ‘सिरियस’ भएर काम गरेको अड्कल काट्न सकिन्छ । उनको कामको केही हिस्सा ट्रेलरमा पनि देखिएको छ । जुन हेर्दा र निर्देशक राउतको करिअरको सवालमा पनि यो सिनेमा चल्नुपर्ने देखिन्छ ।

सुशील पौडेलको सम्भावना

सुशील पौडेल समीक्षक समेत भएकाले उनले सिनेमाको तत्त्व र मर्मअनुसार ‘प्रसाद’ लेखेको धेरैले अनुमान गरेका छन् । त्यसमाथि पनि चलचित्रको ट्रेलर र संवादले प्रसस्त संवाद देख्दा लेखक पौडेलले कथालाई न्याय दिएका छन्  भन्ने धेरैलाई लागेको छ । लेखक पौडेलको पहिलो फिल्म लेखन भएपनि आफूले विद्यालय पढ्दै गर्दा दिमागमा आएको एउटा घटनालाई सिनेमा बनाएको बताउँछन् ।

समीक्षात्मक रुपले सिनेमा बुझेका हुनाले पनि उनले दर्शकले बुझ्ने सिनेमा लेखेका छन् भन्नेमा धेरै विश्वस्त छन् ।

सिनेमाको हाइप

सिनेमाले रिलिजअघि बनाएको हाइपले पनि सिनेमा चल्नुपने दबाब दिन्छ । यो सिनेमाको गीत ‘लै लै’ निकै चर्चित गीत भएको छ । यो गीत हिट हुँदा सिनेमाकै अर्को गीत ‘वनकी चरी’ नै ओझेलमा परेको छ । भलै दुवै गीतलाई दर्शकले रुचाएका छन् ।

आउँदो मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यो सिनेमामा विपिन, निश्चल र नम्रताका अलावा बसुन्धरा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा, भोला शाह, सुनिषा बजगाइँ, प्रकाश गन्धर्व लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै सिनेमाको निर्माण सुवास थापाले गरेका हुन् भने छायांकन राजेश श्रेष्ठले गरेका हुन् ।