सफलता पछि आइरन गेट सुरु हुन्छ – पूजा तिवारी

सफलता पछि आइरन गेट सुरु हुन्छ – पूजा तिवारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चितवनको सौराहाबाट हिरोइन बन्न काठमाडौँ आइपुगेकी पूजा तिवारी अभिनित सिनेमा ‘बेबी आइ लभ यु’ आगामी शुक्रबार रिलिज हुँदैछ ।

न त ठुलो व्यानर, निर्देशक, ब्राण्डबाट टाढै रहेपनि ‘बेबी आइ लभ यु’को ट्रेलर/गीत/संगीतले सिनेमालाई केहि उचाई दिलाएको छ । र पहिलो सिनेमालाई लिएर उत्साहसँगै डर बोकेर पूजा प्रचारमा मज्जैले खटिएकी छन् । प्राय: उनले पुतलीसडकको स्टार मलको एक क्याफेमा बिभिन्न संचार माध्यमलाई अन्तर्वार्ता दिइरहेकी हुन्छिन् ।

स्कुलमा सबैकी प्यारी रहेकी पूजा बाल्यकालदेखि नै कलाका बिभिन्न क्रियाकलापमा रुची राख्थिन । स्कुल लेभलमा हुने सबै प्रतियोगितामा प्रथम हुने पूजा बलिउडकी ऐश्वर्य राय बच्चनबाट प्रभावित छन् । ऐश्वर्यको अदा र अभिनयबाट हुरुक्कै हुने पूजालाई काजोलको अभिनय पनि मन पर्छ । नेपालीमा चै चल्तीका सबै हिरोइन मन पर्छन रे । मेनुका प्रधानलाई आफ्नो आइडल मान्ने पूजा ऋचा शर्माको अभिनयबाट पनि प्रभावित छन् ।

बच्चा बेलामा भने आमाले निरुता, जल शाहजस्ता हिरोइनसँग भेटाउन छायाँकन स्थलसम्म लानु हुन्थ्यो । उहाँ भन्नु हुन्थ्यो ‘निरुता, जल शाहजस्तै बन्नु पर्छ । बाल्यकालमा आफ्ना मन पर्ने हिरोइनको नक्कल गर्न खप्पिस थिइन् पूजा । त्यसैले त उनका साथिहरुले तैले सक्छस, प्रयास गर भनेर हौसला दिन्थ्ये । सबैको सहयोग र हौसलाका कारण यहाँसम्म आइपुगेको सम्झिन्छिन पूजा ।

पूजाको फेसबुक प्रोफाइलबाट

प्लस २ सकेर फेसन डिजाइनिङ सकाएकी पूजाले केहि समय नृत्य सिकाउने जागिर पनि खाइन । क्लासिकल नृत्यमा अब्बल यी चितवनकी चेलीले ‘बेबी आइ लभ यु’ खेलेपछि जागिर पनि छोडेकी छन् । उनि भन्छिन ‘अब त अभिनय भन्दा अरु ठाउँमा हात हाल्दिन ।’ हिरोइन बन्ने भुत उनमा यतिसम्म चढेको छ की, पूजाले अहिलेसम्म म्युजिक भिडियो पनि गरेकी छैनन् ।

प्राय: नयाँ युवतीहरु पहिला मोडलिङ हुँदै सिनेमाको बाटो सम्हाल्छन । तर, पूजा आफ्नो लागि सानो पर्दामा भन्दा ठुलो पर्दालाई नै महत्वपूर्ण ठान्छिन । त्यसैमा अहिलेसम्म आएका म्युजिक भिडियोका अफर पूजालाई बिभिन्न कारणले चित्त बुझेका छैनन् ।

गत वर्ष रिलिज ‘जालो’मा सानो भूमिका निर्वाह गरे पनि’बेबी आइ लभ यु’लाई नै आफ्नो डेब्यु मान्ने पूजा प्रतिस्पर्धाको दुनियाँमा आफुलाई मन्टेश्वरीको बिद्यार्थी ठान्छिन । जुन दिन सफलता हाँसिल हुने छ, त्यो दिन पछि उनको आइरन गेट सुरु हुनेछ । उनि भन्छिन् ‘यहाँ सफलता हाँसिल गर्न त्यति गाह्रो छैन । तर, सफलतालाई बचाइराख्न जो कोहिले सक्दैनन् । त्यसैले सफलता पछि मेरो आइरन गेट सुरु हुनेछ ।’

पूजा ‘बेबी आइ लभ यु’को लागि अडिसन मार्फत छानिएकी थिइन् । तर, अडिसनका क्रममा उनलाई अर्कै सिनेमाको स्क्रिप्ट सुनाइएको थियो । पछि सेलेक्ट भैसके पछि अर्कै स्क्रिप्ट । सुरुमा त उनलाई रिस उठेको थियो । स्क्रिप्ट पढे पनि उनले नाइँ भन्नै सकिनन् । सिनेमामा सोझी लभर गर्लको भूमिकामा प्रस्तुत भएकी पूजा, यो भूमिकाबाट एक खुड्किला चढ्नेमा आशावादी छन् ।

अहिले उनि सिनेमामा भविष्य बनाउन लागि परेकी छन् । यदि केहि गरि सुरुवाती चरणमा असफलता बेहोर्नु पर्यो भने उनि अझ राम्रो सँग सिकेर पुन: सिनेमामा आउने बताउछिन । ‘सिनेमा फ्लप भयो भने त्यति तनाव नहोला तर अभिनय नै रुचाइदिनु भएन भने, सिनेमा सम्वन्धी राम्रो ज्ञान लिइकन फेरी सिनेमाको लागि फर्कन्छु । चाहे त्यो अभिनय मार्फत होस् या प्रोडक्सन ।’