रनवीरको ‘एनिमल’मा काम गर्दै विपिन कार्की


द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाका चर्चित अभिनेता विपिन कार्की बलिउड सिनेमा ‘एनिमल’मा काम गर्ने भएका छन् । निर्माण टिमले विपिनलाई दिएको जानकारी अनुसार उनले अगष्टबाट सिनेमाको छायांकन सुरु गर्नेछन् ।

कबीर सिंह निर्देशक संन्दीप रेड्डी भांगाको सिनेमामा बलिउड अभिनेता रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनिति चोपडाको अभिनय रहनेछ । सिनेमामा अभिनेता विपिन कार्की अडिसन दिएर छानिएका होइनन् । मुम्बईबाट निर्माण टिमले सिधै फोन गरेर उनलाई सिनेमा खेल्ने प्रस्ताव गरेको हो ।

विपिनले केही दिन अघि निर्देशक सन्दिपको भाइ प्रणय रेड्डीले फोन गरेर सिनेमामा काम गर्ने प्रस्ताव गरेको र आफूलाई प्रस्ताव ठीक लागेकोले गर्न लागेको विपिनले बताए । उनलाई प्रणयसँग जोड्ने काम भने ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले गरेका हुन् ।

विपिनले अहिलेसम्म सिनेमाको स्क्रिप्ट पाएका छैनन् तर निर्माण टिमले बताएअनुसार सिनेमामा उनका अधिकांश दृश्य अनिल कपुरसँग छन् । ‘एनिमल’को अहिले दोस्रो सेड्युलको छायांकन भैरहेको छ । विपिनले सिनेमाको अन्तिम सेड्युलको छायांकन मुम्बईमा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्