‘सेल्फी किङ’ स्याड भर्सन गीत, आफन्त गुमाउदाको पिडामा विपिन


द सिनेमा टाइम्स, काठमाडौँ – माघ २४ गते रिलिज हुने सिनेमा ‘सेल्फी किङ’को स्याड भर्सन गीत सार्वजनिक भएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा आफ्नो मान्छे गुमाउदाको पिडाभाव झल्किन्छ ।

चल र अचल दृश्य समावेश गीतमा मुख्य कलाकार विपिन कार्की फिचर्ड छन् । एक हास्यकलाकारको तीन दिने महोत्वस यात्राको कथा भन्ने सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

सुभाष भुसालले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ । भने, सुरज गैरे ‘विवस’ले शब्द रचना गरेका छन् । सुभाष र केतनको पछिल्लो सहकार्यमा ‘लै लै’ बोलको गीत हिट भएको थियो ।

सिनेमामा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ ।

निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन् ।

सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रवल कोइराला र राजेश बिशुराल सह-निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्