‘कबड्डी कबड्डी कबड्डी’ ट्रेलर रिलिज


द सिनेमा टाइम्स, काठमाडौँ – ‘कबड्डी’ नेपाली दर्शकले अत्याधिक रुचाएको सिरिज हो । यसका दुई सृंखला बक्सअफिसमा सुपरहिट भैसकेका छन् । हिमाली जिल्ला मुस्ताङको रैथाने परिवेशमा तयार गरिएको रोमान्टिक कमेडी सिरिजमा दर्शकले मौलिकपन देखिसकेका छन् ।

दोस्रो सृंखला रिलिजको करिब ४ वर्ष पछि बजारमा ‘कबड्डी कबड्डी कबड्डी’को चर्चा हुँदैछ । रामबाबु गुरुङ निर्देशित तेस्रो सृंखलाको शुक्रबार ट्रेलर पनि सार्वजनिक गरिएको छ ।  पुन: मौलिकपन बोकेको ‘कबड्डी’को स्वाद दर्शकले असोज ३ देखि लिनेछन ।

मैया (रिश्मा गुरुङ)प्रतिको एकतर्फी प्रेममा बहकिएका काजी (दयाहाङ राई)को जीवनमा नयाँ सोल्टिनी (उपासना सिंह ठकुरी)को इन्ट्री भएको छ । तर, काजी मैया बाहेक अरुसँग फेरि प्रेम गर्न चाहदैनन् । के नयाँ सोल्टिनीसँग काजीको लगन जुर्ला त ?

नातावादसँग रुमल्लिने कथामा यसपटक कर्मा शाक्य र विल्सनविक्रम राईको पनि इन्ट्री भएको छ । यिनै ४ पात्रले सिनेमाको कथा बोकेका छन् ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा: सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको पल्टन छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी रहेको सिनेमामा रुदेन सदा लेप्चाको सह-लगानी छ ।

प्रतिक्रिया दिनुहोस्