‘यात्रा’मा अन्तिम चरणको डबिङ गर्दै सलिनमान

‘यात्रा’मा अन्तिम चरणको डबिङ गर्दै सलिनमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डेब्यु सिनेमाबाटै स्टारका रुपमा उदाएका कलाकार सलिनमान बनियाँ अहिले दोस्रो ‘यात्रा’को काममा ब्यस्त छन् । उनले डेब्यु सिनेमा ‘ए मेरो हजुर २’बाट ठुलो मात्रामा ‘फ्यान फलोइंग’ बनाएका छन् । अहिले सलिनमान अभिनीत दोस्रो सिनेमा ‘यात्रा अ म्युजिकल भ्लग’को डबिङको काम धमाधम भैरहेको छ । यो सिनेमा वर्षको अन्तिम साता अर्थात चैत्र २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

सलिनमान करिब डेढवर्ष पछि यात्रा मार्फत पर्दामा देखिँदैछन् । अहिले यात्राको डबिङमा ब्यस्त रहेका सलिन सिनेमालाई लिएर निकै उत्साहित छन् । सिनेमामा सलिनमान एक भ्लगरको भुमिकामा रहेका छन् । ‘यात्रा’मा उनको जोडी डेब्यु अभिनेत्री मल्लिका महतसँग बाधिएको छ । लामो समय लगाएर छायाँकन गरिएको सिनेमामा सलिनमानको डबिङसँगै यात्राको सम्पुर्ण काम अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ । सिनेमालाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशकिए सिनेमा हो ।

‘हामीले सिनेमामा जर्नीको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेका छौं’ उनी भन्छन्, ‘सलिनको फ्यानले चाहे अनुरुप नै प्रस्तुत गरेका छौं ।’ सिनेमाको डबिङ गरिरहेका सलिन पनि खुसी छन् । उनले डबिङकै क्रममा सिनेमा पनि हेरिरहेका छन् । ‘रमाइलो भइरहेको छ’ उनी भन्छन्, ‘दोस्रो सिनेमामा आइपुग्दा आफूलाई झनै परिपक्व बनाउदैछु ।’

नेपालमा चलेका कलाकारलाई एउटा सिनेमा निर्माण भइसकेपछि अर्को सिनेमा गर्न हतार भइहाल्छ । तर, सलिनलाई कुनै हतार छैन । ‘यात्रा’ पछि कुन फिल्म गर्ने उनी स्वयंलाई थाहा छैन । उनी आफूलाई सुहाउँदो रोल अफर आओस् भन्ने चाहन्छन् । ‘यात्रा’मा सलिनमान बनियाँका अलवा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । सिनेमामा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सिनेमालाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् । सिनेमामा कथा निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको सिनेमामा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ ।