हिंसाबाट उदाएको ‘सेतो सूर्य’

हिंसाबाट उदाएको ‘सेतो सूर्य’

द सिनेमा टाइम्स
0
Shares

शंखध्वनी बज्छ। शव उठाउनै लाग्दा कान्छो छोराले भित्रबाट एउटा झन्डा लिएर आउँछ। ‘बुबाको अन्तिम इच्छा थियो,’ भन्दै राप्रपा (नेपाल) को त्यो झन्डा शवमाथि ओढाइदिन्छ। शव उठाउनै लागेका ठूलो छोरालाई त्यो सह्य हुँदैन। थुतेर फालिदिन्छ।बाबुको शव छेउमा दुईवटा छोराको घम्साघम्सी पर्नै लागेका बेला गाउँले अलमलमा पर्छन्। गाउँले भन्नु त के? उही कुरेर बसेका बूढापाका, महिला र केटाकेटी।  सेनामा काम गरेको कान्छो छोरा गाउँ पञ्चायतमा सधैं जित्दै आएका पिताको भावनाप्रति अडिग छ। माओवादी भएर वर्षौं बाहिरै बसेको जेठो छोरा भने बाबुको मृत्यु सुनेरै आइपुगेको हो। उसको निम्ति उसकै यो गाउँ विरानो छ।

 छेवैको गाउँमा उसँगै माओवादी भएका मानिस अचेल हेलिकप्टर चढेर आउने गर्छ। ऊ भने भुख्खा टुरिस्टजस्तै ब्याकप्याक बोकेर आएको देखेपछि उसै त युद्ध र त्यसपछिको अनिश्चितताले गलेका गाउँलेको लुकेका कुण्ठा जाग्न थाल्छन्।
 ठ्याक्कै त्यही अनुभूति जुन गायक ‘आभाष’ ले कवि श्रवण मुकारुङको शब्दमा गाउँदा महशुस हुने गर्छ–
‘गौँथली झैँ यो गाउँमा
कसको मायाले, भन तिमी आयौ?’
जे होस्, गाउँलेले सम्झाएपछि अन्ततः शवमा फेरि झन्डा ओडाइन्छ। तर, दुईवटा छोराबीचको विवाद सकिँदैन। शव बाटैमा पसारो लाग्छ। दुईवटै छोरा दुईतिर लाग्छन्। यो सिनेमा त्यसैमा अगाडि बढेको छ।
दिपक रौनियारले बनाएको सिनेमालाई मैले यहाँ ‘सेतो सूर्य’ भनेर लेखेँ भने सायद सबैले नठम्याउलान्। अझै केही दिन ‘ह्वाइट सन’ भन्नुपर्ने होला। ‘टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल’ बाट सुरु भएको यसको प्रदर्शन यात्रामा एकपछि अर्को विश्वप्रसिद्ध चलचित्र महोत्सव थपिँदै गएका छन्।
सफलताको लाममै शनिबार राति मात्र सिंगापुरमा आयोजित ‘२७ औं सिंगापुर इन्टरनेसनल फिल्म फेस्टिभल’ मा यसले सबै गरेर ५५ हजार डलरसहित सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको थियो। यसअघि अर्को बहुप्रतिष्ठित ‘भेनिस फिल्म फेस्टिभल’ मा पनि यसले ‘इन्टर फिल्म अवार्ड’ जित्न सफल भएको छ।
पश्चिमा दर्शकमाझ अत्यन्त रुचाइएकै कारण हामी जिज्ञासु रहेको यो सिनेमा ‘ह्वाइट सन’ भन्दा बढी ‘सेतो सूर्य’ छ। यसका प्रत्येक पात्र र भोगाइले हामी प्रत्येकका भोगाइको प्रतिनिधित्व गर्छन्। हरेक पात्र आफ्नै परिस्थितिमा जेलिएको छ। हरेकको अवस्था देखेर मायाले छातीमा टाँस्न मन लाग्छ। र, परिस्थितिले नै उनीहरूभित्र द्वन्द्व पनि गराइरहेको हुन्छ। अनि त्यसैले सिनेमालाई रोचक तरिकाले अगाडि बढाउँदै लैजान्छ।
कुनै समय प्रहरी चौकी जलाउने चन्द्र उर्फ पार्टीको निम्ति अग्नि (दयाहाङ राई) बुबाको शव बाटैमा अलपत्र परेपछि त्यही प्रहरी चौकीको खोजीमा लाग्छ। उनीहरूले नै लखेटेको प्रहरी अब पारीको अर्को गाउँ पुगिसकेको छ। ऊ त्यतै जान्छ। अबको सत्ता भनेको चन्द्रकै हो। त्यसैले प्रहरीले स्वागत किन नगरोस्? तर, भित्रको इख त सकिएको छैन। त्यसैले आफूहरू अर्कै क्षेत्रमा परेका कारण चन्द्रको गाउँ जान नमिल्ने बताएर पन्छिन्छन्। चन्द्र निस्कनै लाग्दा प्रहरीको हाकिमले एउटा संवाद बोल्छ, ‘तपाईंको भाइलाई सम्झेको छ भनिदिनु होला।’
यसरी प्रत्येक दृश्य र संवादले गहन अर्थ खोल्दै लैजान्छ। फेरिँदै गरेको नेपाली समाजको भित्री उथलपुथल बाहिर ल्याइदिन्छ। सतहमा ढाकछोपले काम चलाउँदै गरे पनि भित्र गहिरो विभाजन बोकेर अघि बढिरहेको सम्बन्धका दृश्य प्रस्तुत हुन्छन्।
चन्द्रले प्रगतिशील विचार बोकेर के पायो थाहा छैन। तर, सबैथोक गुमाएको छ। जुन राज्य उसको भयो, त्यसैको प्रतिनिधित्व गर्ने प्रहरीका कुरा त आइहाल्यो। कुनै समय उसैले ज्यान जोगाइदिएको माओवादी नेतासँग सहयोग माग्न जाँदा तिनको ‘नवसामन्ती’ रूप उदांगो भएपछि ऊ भरंग हुन्छ।
अन्ततः पिताको सम्मानमा अडिग भाइ सुरज (रविन्द्र सिंह बानियाँ) सँग माफी माग्न जान्छ। तर, भाइ हिँडिसकेको हुन्छ।
यो सिनेमाभित्र अरू पाटाहरू पनि छन्। तहभित्र अनेक तह गुम्सिएर बसेजस्तो चन्द्रले उतिबेलै बिहे गरेर हिँडेको दुर्गा (आशा मगराती) पनि गाउँमै छे। दुर्गाको हुर्किसकेकी छोरी बुबा खोज्छे। आमाले उसैसँग बिहे गरेको फोटो देखेपछि ती छोरीले चन्द्रलाई पछ्याउन थाल्छे। उता आफ्नै श्रीमतीबाट जन्मेको भए पनि अरू कुनै पुरुषको छोरीलाई कसरी सम्झाउने भन्ने भेउ चन्द्रले पाउँदैन। गाउँलेका निम्ति त उसैको छोरी हुने नै भयो। दुर्गाको निम्ति मुख्य समस्या बाबुको नाम नपाएर छोरीको पढाइ अघि बढाउन मुश्किल भएको छ। यस्ता अनेक गाँठा पनि छन् जसलाई सिनेमाले खोल्दै लैजान्छ।
चलचित्रमा दुईवटा बाल कलाकारको सशक्त उपस्थिति छ। एउटा दुर्गाकी छोरी पूजा (सुमी मल्ल) र अर्को द्वन्द्वकालमै माओवादीले बाबुआमा मारिदिएपछि टुहुरो दसवर्षे भरिया बद्री (अमृत परियार)। आफ्नो अवस्थालाई जीवन्त रूपले उतार्न सफल यी दुई केटाकेटीको अभिनयले दर्शक मनलाई छुन्छ।
परिस्थितिले जटिलता थप्दै लगेपछि अन्ततः माओवादी र प्रहरीबीच दोहोरो भिडन्तमा पुगेर चलचित्रले क्लाइमेक्स समात्छ। अन्त्य भने कसैले नचिताएको हुन्छ। भविष्यप्रति आशावादी बनाउने अत्यन्त सकारात्मक सन्देशसहित सिनेमा टुंगिन्छ।
नेपाली दर्शकका निम्ति दिपक रौनियार नयाँ नाम होइन। उनले यसअघि ‘हाइवे’ बनाएका थिए। त्यो सुरुआतको विन्दुभन्दा आफूलाई निकै माथि उठाउन ‘सेतो सूर्य’ बाट दिपक सफल छन्। त्यसो त द्वन्द्वको परिवेश समातेर यसअघि ‘कालोपोथी’ पनि आइसकेको छ। तर, द्वन्द्व र त्यसैले सिर्जना गरेको परिवेशमै केन्द्रित रहेर बनेको यत्तिको सशक्त सिनेमा सायद यसअघि बनेको छैन। छिरिङरितारले बनाएको ‘उमा’ त्यसको नाटकीय अन्त्यले खल्लो थियो।
सन् २००२ मा बोस्नियाको लडाइँमा आधारित एउटा सिनेमा ‘नो म्यान्स ल्यान्ड’ले ओस्कार जितेको थियो। त्यसैको प्लटलाई नेपालको द्वन्द्वमा ढालेर रूपान्तर गरेर सिनेमा बनाउने जमर्कोसमेत नभएको होइन। तर, मौलिकताभित्रै रहेर ‘नो म्यान्स ल्यान्ड’ प्रकृतिको कथाको स्तरीय झलक यसै चलचित्रले समेटेको छ।
कथा र प्रस्तुति मात्र होइन, अन्नपूर्ण हिमालको फेदैमा रहेको गुरुङ गाउँको सुन्दरतालाई गजबसँग खिचेका छन् मार्क ओफियरगालले। तर किन हो, यसका दृश्यहरू भने अलिक ‘डार्क’ देखिन्छ। सम्भवतः द्वन्द्वका कारण उत्पन्न सामाजिक अँध्यारोलाई विम्बका रूपमा झल्काउन खोजिएको पनि हुनसक्छ।
डेभिड बार्करको सम्पादनले एक घन्टा २७ मिनेट लामो सिनेमालाई अत्यन्त मिहिनसँग बुनेको छ। सिनेमाका अन्तर्राष्ट्रिय दर्शकको स्तरमा पुग्न टिमले कुनै कसर बाँकी राखेको छैन।
यति हुँदाहुँदै ‘सेतो सूर्य’ मा दाग नभएका होइनन्।
दोस्रो संविधानसभाले संविधान जारी गर्दाकै समयमा सिनेमालाई उभ्याइएको छ। समयप्रति यति सावधानी अपनाइएको सिनेमा भएर पनि यसका सम्पूर्ण पात्र २०४६ सालभन्दा अगाडिका मात्र छन्। अर्थात्, कांग्रेस, एमालेजस्ता दलहरूको यसमा उपस्थितिसमेत छैन। नेपालको परिस्थिति राम्ररी नबुझेका दर्शकलाई यो सिनेमा हेर्दा सारा झगडाको जड केवल राजतन्त्र अर्थात् परम्परावादी र त्यसलाई फेर्न चाहने माओवादीको मात्र देखिन्छ।
माओवादी आन्दोलनको उठान राजतन्त्र मात्रै फाल्नु थियो र त्यसमा सफल भए भन्ने सन्देश दिन खोजिएको हो भने त्यो सम्पूर्ण घटनाक्रम ननियालेका विदेशी दर्शकलाई काम लाग्ने तर्क मात्र हुन्छ। यद्यपि ‘फिक्सन’ फिल्ममा आफूलाई मनलागेको कुरा देखाउने स्वतन्त्रता निर्देशकसँग रहन्छ नै।
सिनेमामा अर्को एउटा अनौठो लाग्ने कुरा अहिले पनि माओवादीहरू पहिलेजत्तिकै सशक्त रूपमा कम्ब्याट लगाएर सक्रिय रहेको देखाइनु हो। त्यसो त अहिले पनि असन्तुष्ट पक्षले बेलाबेला हतियार उठाएका घटना नसुनिएका होइनन्। तर, २०६२ सालभन्दा पहिलेकै अवस्थामा उनीहरूलाई उभ्याइनुले झुक्याउन खोज्छ।
यो चलचित्र यसै साताबाट सुरु हुन लागेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को उद्घाटन फिल्मका रूपमा पहिलोपटक काठमाडौंमा प्रदर्शन हुन गइरहेको छ। त्यसलगत्तै काठमाडौंलगायत आठवटा सहरका १८ वटा हलमा यसको प्रदर्शन सुरु हुँदैछ।
साभार =  सेतोपाटी     {गिरीश गिरी }