नाजिरको ‘कुरुप हाँस’ अब पोखरामा

नाजिरको ‘कुरुप हाँस’ अब पोखरामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राजधानीको मण्डला थिएटरमा सफलता पुर्वक मन्चन भएको नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) अब पोखरामा मन्चन हुने भएको छ ।

डेनिस लेखक हेन्स क्रिश्चियन एण्डरसनको कथालाई अभिनेता नाजिर हुसेनले परिकल्पना एवं निर्देशन गरेका हुन् । नाटकमा नाजिरकै प्रमुख भूमिका छ । नाटक असार १ देखि ३ सम्म, महेन्द्रपुल गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्भ नाटकघरमा दिउँसो १ बजे र साँझ ५.३० बजेको समयमा मन्चन हुनेछ । नाटक हेर्न टिकट दर विद्यार्थीका लागि २००, जेनेरल ५०० र १००० रुपैयाँ तोकिएको छ ।

नाजिरसँगै मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको नाटकले  सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ-दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्नेअपहेलना र विभेदलाई प्रस्तुत गरेको छ।

घरबाट गाउँ हुँदै सुन्दर तलाउको किनारमा पुगेर कालो रङमै आफ्नो सुन्दरता भेट्ने कुरुप हाँसको कथा भन्नका लागि निर्देशकले कन्टेम्पररी डान्स फर्मको प्रयोग गरेको बताएका छन्। नाटकमा संवादको प्रयोग छैन। कुरुप हाँसका बारेमा नाजिर भन्छन्,‘यो एउटा बिम्वात्मक कथा र प्रस्तुति हो। कथाको केन्द्रमा हाँस भएपनि हाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रङ् वा जात, धर्म, लिङ्गका आधारमा गरिने विभेद संकेत गर्छ।’ साथै , उनले नाटकको कथामा आफू र आफ्ना भोगाइहरु महसुस गरेको बताए। ‘छालाको रङ, शारीरिक सुगठन, धर्म, जात आदिका कारणले धेरैपटक फरक महसुस गर्नु पर्यो। अरुले कुरुप महसुस गराएको त्यही अनुभूतीलाई सुन्दर बनाएर नाटकमार्फत प्रस्तुत गरेको छु।’ उनले भने ।

अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा प्रकाश सुदिप खतिवडाले र संगीत मिलन कार्कीले व्यवस्थापन गर्नेछन्। पोखराका लागि फ्लोरेन्स कार्कीले कार्यक्रम संयोजन गर्दैछिन्।