‘झोले’ सिक्वेल नभएकै कारण प्रियंका आउट भएकी हुन् – टेकेन खड्का

‘झोले’ सिक्वेल नभएकै कारण प्रियंका आउट भएकी हुन् – टेकेन खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘मिस्टर झोले’ अहिले प्रचारको उत्कर्षमा छ । सार्वजनिक प्रचार सामाग्रीले सकारात्मक चर्चा पाएपछी निर्माण टिम उत्साहित हुँदै सिनेमा प्रचारको लागि दौडधुपमा छ ।

यसैक्रममा मंगलबार राजधानीमा सिनेमाको बारेमा भलाकुसारी गर्दा अभिनेता दयाहाङ राईसहित दुई निर्माता रौनकविक्रम कँडेल र टेकेन खड्काले क्यामरासामु मिडियाका जिज्ञासा मेटाए । अहिले ‘मिस्टर झोले’ टिमलाई अधिकाँस दर्शकले ‘झोले’ सिक्वेलको रुपमा लिईरहेका छन् ।

तर, सिनेमाका निर्माता टेकेन खड्काले यो ‘झोले’को सिक्वेल नरहेको बताए । हुनत् सुरुवातमा टेकेनले ‘झोले’कै सिक्वेल बनाउनलाई रामबाबु गुरुङसँग होमवर्क सुरु गरेका थिए । कथा लेख्दै जाँदा ३-४ ओटा कथाबाट एउटा कथा टेकेनलाई निक्कै मन पर्यो । तर, ‘यसको कथा भने ‘झोले’ सिक्वेल बन्न लायक थिएन ।’ टेकेनले भने ।

कथानै फरक भएपछी यसले क्यारेक्टर पनि भिन्न माग्यो । कथामा मंगोलियन फेस सुहाउने भएपछी दीयालाई छनोट गरिएको थियो । ‘मिडियामा प्रियंकालाई किन नलिएको भन्ने खालका कुराहरु पनि आएका रैछन । ‘झोले’को सिक्वेल नभएकै कारणनै प्रियंका नअटाएकी हुन् ।’ टेकेनले प्रष्ट पारे ।

रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाका अलावा वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।