‘शत्रु गते’ सफलतामा किन उपस्थित भएनन् दीपक-दीपा ? (फोटोफिचर)

‘शत्रु गते’ सफलतामा किन उपस्थित भएनन् दीपक-दीपा ? (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित सिनेमा ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिने सेलेब्रेसन पार्टी सम्पन्न गरेको छ । राजधानीमा सफलताको खुसी साट्दै टिमले सिनेमा सफल पार्न मद्दत गर्ने प्राविधिक, कलाकार, हल संचालक र मिडियालाई मायाको चिनो तथा सम्मान पत्र बाँड्यो ।

वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित सिनेमाका कलाकार प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी लगायतका कलाकारको उपस्थिति हुँदा मुख्य भूमिका निर्वाह गरेका दीपाश्री निरौला, दीपकराज गिरी  र पल शाह उपस्थित भएनन्। ‘छक्का पन्जा ३’ सुटिङमा व्यस्त भएका कारण दीपक-दीपा उपस्थित हुन् सकेनन् । बरु, दीपा-दीपक क्याम्प बाहिर ‘रामकहानी’मा अभिनय गरेका केदार घिमिरे र जितु नेपाल उपस्थित भए । सेलेब्रेसन कार्यक्रम जितुले संचालन गरेका थिए । कार्यक्रममा दीलिप रायमाझीले हिट गीत ‘रुपै मोहनी’मा नृत्य प्रस्तुत गरेका थिए ।

चैत ९ गते प्रदर्शनमा आएको ‘शत्रु गते’ यहिँ शनिबार प्रदर्शनको ५१ दिन पार गरेको थियो । राजधानीका गुण, गोपीकृष्ण, अष्टनारायण, क्युएफएक्स अन्तर्गतको छायाँ, बाराही, एफक्युब, बिग सिनेमाज र सिटिम्याक्सका स्क्रिन्समा सिनेमाले ५१ दिन पार गरेको हो ।

सिनेमाको सफलताको बारेमा बोल्दै निर्देशक भट्टराईले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथै, दर्शकको साथले सफलता पाएको सुनाउदै आउँदा दिनमा दर्शकलाई मनोरंजन दिने सिनेमा निर्माण गर्ने जोश र जाँगर पलाएको बताए ।

सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका अलावा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।