‘बोल्ड एण्ड ब्युटिफूल’ साम्राज्ञी, जो सधै चर्चामा छिन्

‘बोल्ड एण्ड ब्युटिफूल’ साम्राज्ञी, जो सधै चर्चामा छिन्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – बोल्ड एण्ड ब्युटिफूल अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ रिलिजको संघारमा छ । रिलिजअघि नै अभिनेता आर्यन सिग्देलसँगै उनको पनि उत्तिकै चर्चा छ । जुन चर्चा स्वभाविक पनि हो । यी बोल्ड नायिकाले अभिनय गरेका फिल्म त चर्चामा नआउने कुरै भएन, जुन फिल्म पाइपलाइनमा छन्, ती पनि चर्चामा छन् ।

साम्राज्ञी अभिनित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को टिजर केही समयअघि रिलिज गरिएको थियो । टिजरसँगै साम्राज्ञीको अभिनयको पनि तारिफ गरियो । पहिलो फिल्म ‘ड्रिम्स’ पछि पछाडि फर्केर हेर्न परेको छैन उनलाई । उनी पछिल्लो पुस्ताकी ‘हट एण्ड ब्युटिफूल ’ नायिकामा गनिन्छिन् । धेरैले फिल्म ‘ड्रिम्स’ चल्नुमा जति अनमोल केसीको भूमिका छ, त्यति नै साम्राज्ञीको पनि हात छ भन्ने गर्छन् । हुन पनि उक्त फिल्ममा साम्राज्ञीको उपस्थिति नोटिस गर्न लायक थियो । फलस्वरुप उनी एउटै फिल्मबाट सर्वाधिक चर्चित अभिनेत्रीमध्ये एक बनिन् । धेरैले  साम्राज्ञीलाई बौद्धिक नायिका भन्ने पनि गर्छन् ।

नेपालमा त्यस्ता कलाकार छन्, जसले मिडियामा आएका समाचारलाई लिएर अनेक ताण्डव मच्चाउँछन् । तर, साम्राज्ञी भने यस्ता समाचारको पछि लागेको खासै भेटिँदैन । समाचार र रिभ्यु आउँदै गर्छन् । उनी भने आफूलाई अझै सुधार्दै अगाडि बढ्छिन् । त्यसो त उनलाई बेलाबेला उस्तै खाले अभिनय गरेको भन्ने आरोप पनि नलाग्ने होइन । तर, कतिले यो दोष उनको भन्दा पनि फिल्ममेकरको भएको बताउँछन् ।

फिल्ममा साम्राज्ञीलाई प्रेमिकाका रुपमै देखिएको छ । दर्शकले उनको यही रुपलाई हालसम्म रुचाएका छन् भनेर केही फिल्मकर्मी भन्दै आइरहेका छन् र त्यस्तै भूमिकामा अभिनय गराएका छन् । महंगो रकम तिरेर फिल्ममा खेल्ने साम्राज्ञी  आफ्नो कामप्रति निकै इमान्दारका साथ लागेको सँगै काम गरेका सहकर्मी तथा फिल्मकर्मीहरु बताउँछन् ।

उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘धेरैले म मुडी छु भनेर सोच्नुहुन्छ, तर जो नजिक हुनुहुन्छ, उहाँहरुले बुझ्दै गएपछि त्यस्तो नलागेको आफै बताउनुहुन्छ ।’ यतिबेला फिल्म ‘कायरा’ को प्रचारमा जुटेकी साम्राज्ञी आफ्नो कामप्रति कति जिम्मेवार छिन् भन्ने त उनले प्रमाण गरिसकेकी छिन् । त्यतिबेला उनको फिल्म ‘तिमीसँग’ रिलिजको तयारीमा थियो । एक फिल्मका लागि विदेश जानुपर्ने अवस्था थियो । तर, समय मिलाएर ‘तिमीसँग’ को प्रचारमा लागिपरेकी थिइन् उनी ।

भलै फिल्म सोचेअनुरुप चलेन । आफूले अभिनय गरेको फिल्मलाई आफ्नै लगानीमा बनेको फिल्मझैँ माया गर्ने र सफल होस् भनेर सक्दो सहयोग गर्ने उनको बानीलाई फिल्मकर्मीले तारिफ गर्ने गर्छन् । नयाँ तथा पुरानो पुस्तामाझ लोकप्रिय साम्राज्ञीको कामको मात्रै तारिफ हुँदैन । उनको रुपको पनि उत्तिकै तारिफ हुने गर्छ । जम्मा पाँच फिल्ममा अभिनय गरेकी साम्राज्ञीका दुई फिल्म अझै रिलिज भइसकेका छैनन् । तीन फिल्मले नै उनलाई नेपाली फिल्म उद्योगमा स्थापित गराइदिएको छ । दर्शकलाई उनको फिल्मको प्रतीक्षा हुन थालेको छ । विवादमा आएरभन्दा काम गरेर चर्चामा आउन चाहने साम्राज्ञी फिल्म ‘कायरा’ मा अभिनेता आर्यन सिग्देलसँग जोडी बाँध्दैछिन् ।

केही समयअघि ट्रेलर रिलिज भएपछि दर्शकको ध्यान फिल्मले तानेको छ । शायद दर्शक पनि फिल्मको पर्खाइमा छन् । जोडी सुहाएको प्रतिक्रिया पनि दिइरहेका छन् । फिल्मले उनलाई अझ कति धेरै फाइदा पु–याउँछ, त्यसका लागि केही हप्ता कुर्नुपर्नेछ । ‘कायरा’ का निर्देशकले फिल्ममा साम्राज्ञीलाई फरक भूमिकामा देख्ने बताएका छन् । यो फिल्मले साम्राज्ञीको करिअरमा थप इँटा थप्ने भने पक्का छ ।