‘समर लभ’को पहिलो गीत ‘साया’ रिलिज (भिडियो)

‘समर लभ’को पहिलो गीत ‘साया’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २५ गते रिलिज हुने सिनेमा ‘समर लभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउने हेतुले गीत रिलिज गरेको हो । सार्वजनिक ‘साया…’ बोलको गीतमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचर्ड गरिएको छ ।

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो सिनेको सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन् । सिनेमाको गीतमा शब्द तथा संगीत पनि पुष्पन प्रधानको नै रहेको छ ।

‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सिनेमाको यसअघि सार्वजनिक टिजरले लोकप्रियता बढाउँदै छ । मुस्कान ढकालको निर्देशनमा तयार भएको सिनेमामा आशिष पिया र रेवती क्षेत्रीका अलवा सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने सिनेमाको संवाद लेखनमा सामिप्यराज तिमिल्सेनाले सुबिनसँग साझेदारी गरेका छन् । नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सिनेमामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् । अर्जुन जिसीले सम्पादन गरेको ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माताको रुपमा रहेका छन् ।