सय करोड क्लबको ‘टाइगर’ बनाउने १२ सिनेमा !

सय करोड क्लबको ‘टाइगर’ बनाउने १२ सिनेमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता सलमान खान बलिउड बक्सअफिसका लागि बादशाह नै मानिन्छन् । पछिल्लो ७ वर्षलाई हेर्दा उनका ९५ प्रतिक्षत सिनेमा बक्सअफिसमा सफल भएका छन् ।

कुनै सिनेमाले आशासित व्यापार गर्न नसकेपनि रेकर्ड राख्न भने चुकेका छैनन् । पछिल्लो रिलिज ‘टाइगर जिन्दा हे’ले पनि ३ दिनमै सर्वाधिक कलेक्सन गर्दै रेकर्ड राखीसकेको छ । सिनेमाले ३ दिनमा झन्डै १ सय १५ करोडको व्यापार गर्यो । पहिलो तिनमा यो नै बलिउड सिनेमाले कमाएको सर्वाधिक हो । तर, हिन्दी भर्सनमा भने ‘बाहुबली २’ भन्दा एक कदम पछाडी हो । प्रभास स्टारर सिनेमाले विकेन्ड हिन्दी भर्सनमा १ सय २८ करोड कमाएको रेकर्ड छ ।

सलमानको ‘टाइगर जिन्दा हे’सँगै यिनका १२ सिनेमाले लगातार सय करोड क्लबमा इन्ट्री गरेका छन् । बलिउडका अन्य अभिनेताले बक्सअफिसमा यस्तो रेकर्ड राख्न सकेका छैनन् । सन् २०१० मा ‘दबंग’ले सलमानलाई पहिलो पटक सय करोड क्लबको अभिनेतामा इन्ट्री गराएको थियो । सय करोड क्लबमा इन्ट्री गर्ने यो तेस्रो बलिउड सिनेमा समेत हो । यसअघि आमिर खानका ‘गजिनी’ र ‘३ इडीइट्स’ले सय करोड माथिको व्यापार गरिसकेका थिए ।

७ वर्षको विचमा सलमानका १२ मध्ये २ सिनेमा मात्र बक्सअफिसमा कमजोर देखिए । त्यैपनि सय करोड माथि नै कमाए । बिग बजेटका सिनेमा भएका कारण पनि सय करोड माथिको कलेक्सनले पनि ‘जय हो’ र ‘ट्युबलाईट’लाई सफल सिनेमाको सुचीमा अटाउन दिएन ।

सलमानलाई साचिकै सय करोड क्लबको टाइगर बनाउने १२ सिनेमाको बारेमा आज चर्चा गर्दैछौ ।

दबंग:

२०१० मा रिलिज यो सिनेमाबाट सलमानले सोनक्षी सिन्हालाई बलिउड डेब्यु गराएका थिए । अभिनव कश्यप निर्देशित सिनेमाले १ सय ४५ करोडको व्यापार गरेको थियो । यसले सय करोड क्लबमा इन्ट्री गर्न जम्मा १० दिन लगाएको थियो । ४२ करोडको बजेटमा निर्मित सिनेमामा विश्व चर्चित ‘मुन्नी बद्नाम’ बोलको गीत पनि समावेश थियो । यहिँ सिनेमाबाट सलमान चुलबुल पाण्डेको नयाँ नाम पनि पाए ।

रेडी:

अनिश बज्मी निर्देशित सिनेमा २०११ मा रिलिज भएको थियो । सिनेमामा सलमानले असिन ठोट्टुमकलसँग जोडी बाँधेका थिए । पारिवारिक कथामा निर्मित सिनेमामा एक्सन दृश्य पनि भरपुर प्रयोग गरिएका थिए । भारतीय बक्सअफिसमा १ सय २० करोडको व्यापार गरेको सिनेमाले १२ दिनमा सय करोडको माइलस्टोन पार गरेको थियो । ४० करोडको बजेटमा निर्मित सिनेमाको ‘ढीन्का चीका’ बोलको गीत अहिले पनि चर्चित छ ।

बडीगार्ड:

२०११ मै रिलिज भएको सिनेमामा सलमानको अपोजिट करीना कपूर थिइन् । १ सय ४२ करोड कमाएको सिनेमा जम्मा ८ दिनमै सय करोड क्लबको सदस्य बनेको थियो । सिद्दिकी निर्देशित सिनेमा ६० करोडमा निर्माण भएको थियो ।

एक था टाइगर:

२०१२ मा रिलिज भएको ‘एक था टाइगर’ले पहिलो दिन ३० करोड माथिको कलेक्सन गर्दै रेकर्ड राखेको थियो । यो सिनेमाले ६ दिनमै सय करोड कमाउदै लाइफटाइम कलेक्सन १ सय ९८ करोड पुर्याएको थियो । ७५ करोडको बजेटमा निर्मित सिनेमालाई कबिर खानले निर्देशन गरेका थिए ।

दबंग २:

२०१२ मै मै रिलिज सिनेमाले पनि सय करोड माथिको व्यापार गर्न सफल भयो । यो सिनेमामा सोनाक्षी पुन: सलमानसँग दोहोरिएकी थिइन् । ६ दिनमै सय करोड माथि कमाएपनि पनि सिनेमाको लाइफटाइम कलेक्सन १ सय ५९ करोड मात्र पुग्यो । अरबाज खान निर्देशित सिनेमा ८० करोडको बजेटमा निर्माण भएको थियो ।

जय हो:

‘दबंग २’ रिलिज भएको दुई वर्ष पछी ‘जय हो’ प्रदर्शनमा आयो । तर, सिनेमाले बक्सअफिसमा आशासित व्यापार गर्न सकेन । यो सिनेमामा सलमानले डेजी शाहलाई डेब्यु गराएका थिए । १ सय १० करोडको बजेटमा निर्मित सिनेमाले जम्मा १ सय ११ करोड मात्र कमाउन सक्यो । सोहिल खान निर्देशित सिनेमाले १० दिनमै सय करोड क्लबमा इन्ट्री मारेको थियो ।

किक:

‘जय हो’ले आशासित व्यापार नगरेपनि ‘किक’ले भने सलमानको यो वर्ष निरास बनाएन । जम्मा ५ दिनमै सय करोड क्लबमा इन्ट्री गर्दै ‘किक’ सलमानको २ सय करोड कमाउने पहिलो सिनेमा बन्यो । यसले लाइफटाइम २ सय ३३ करोड बढीको व्यापार गर्यो । साजिद नाडियडवाला निर्देशित सिनेमा १ सय ४० करोडको बजेटमा निर्माण भएको थियो ।

बजरंगी भाइजान:

२०१५ मा रिलिज भएको यो सिनेमा सलमानको करियरमा सर्वाधिक कमाउने सिनेमा हो । यसले भारतीय बक्सअफिसमा ३ सय २० करोड माथि कमाएको छ । यसको रेकर्ड ‘टाइगर जिन्दा हे’ले तोड्न सक्ने अनुमान छ । कबिर खान निर्देशित सिनेमाले ३ दिनमै सय करोड कमाएको थियो । ९० करोडको बजेटमा निर्मित सिनेमालाई समिक्षकले पनि उकृष्ट ठहराएका थिए ।

प्रेम रतन धन पायो:

यो सलमानको करियरमा पहिलो दिन सर्वाधिक कलेक्सन गर्ने सिनेमा हो । ४० करोडको ओपनिङ गरेको सिनेमा पनि ३ दिनमै सय करोड क्लबमा इन्ट्री गरेको थियो । तर, मिस्रित समिक्षाका कारण सिनेमाको लाइफटाइम कलेक्सन २ सय ७ करोड भन्दा माथि पुग्न सकेन । २०१५ मै रिलिज भएको यो सिनेमालाई सूरज आर. बर्जत्यले निर्देशन गरेका थिए ।

सुल्तान:

२०१६ मा रिलिज भएको सिनेमाले लाइफटाइम ३ सय करोड छुँदा ३ दिनमै सय करोड क्लबमा इन्ट्री गरेको थियो । अलि अब्बास जफर निर्देशित सिनेमा जम्मा ९० करोडको बजेटमा निर्माण भएको थियो । सिनेमामा सलमानको अपोजिट अनुष्का शर्मा थिइन् ।

ट्युबलाईट:

यहिँ वर्ष रिलिज भएको यो सिनेमा असफल सिनेमाको सुचीमा छ । तर, यसले पनि ६ दिनमै सय करोड क्लबमा इन्ट्री गर्दा पनि लाइफटाइम १ सय २१ करोडमै खुम्चियो । कबिर खान निर्देशित सिनेमा १ सय ३५ करोडको बजेटमा निर्माण भएको थियो ।

टाइगर जिन्दा हे:

सिनेमाले तिन दिनमै सर्वाधिक कलेक्सन गर्दै सय करोड क्लबमा इन्ट्री गरिसकेको छ । सिनेमाले चार दिनमै १ सय ५० करोड माथिको व्यापार गर्दा लगानी सुरक्षित गरिसकेको छ । १ सय ५० करोडको बजेटमा निर्मित सिनेमालाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् ।