जन्मदिनमा रेखा थापालाई शुभकामनाको ओइरो !

जन्मदिनमा रेखा थापालाई शुभकामनाको ओइरो !

द सिनेमा टाइम्स
0
Shares

आज भाद्र ५ गते नायिका रेखा थापाको जन्मदिन । रेखा आजबाट ३७ वर्षमा प्रवेश गरेकी छिन् । उनलाई नेपाली सिनेमामा हठि र विवादित नायिकाको रुपमा चिन्ने गरिन्छ । २ सय भन्दा बढि सिनेमामा काम गरिसकेकी थापाले अभिनेत्री, निर्माता, निर्देशक र संगीतकार लगायतका विधामा काम गरिसकेकी छन् ।

छविराज ओझाको सिनेमा ‘हिरो’ बाट अभिनय यात्राको सुरुवात गरेकी उनले यसपछि ‘मितिनी’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘कर्णवीरु’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘हिम्मत’, ‘किस्मत’, ‘हिफाजत’, ‘अन्दाज’, ‘रावण’, ‘कस्ले चोर्यो मेरो मन’, ‘हिम्मतवाली’, ‘रामप्यारी’ जस्ता सिनेमामा अभिनय गरिसकेकी छन् ।

आलोचना र प्रशंसाको अभिन्न मित्र बनेकी रेखा एक दशक अगाडिदेखि ‘नम्बर वान’ अभिनेत्रीको यात्रामा स्थिर छिन् । ‘डायरी’, ‘रुद्रप्रिया’, ‘पलाँस’ सिनेमा बक्सअफिसमा डुब्दा भने उनको स्टारडमले ठाउँ छाड्न थालेको धेरैको तर्क छ । एक्सन अभिनेत्रीको छवि बनाएकी उनले पछिल्लो समय सिनेमा मार्फत् महिला सशक्तिकरणको आवाज उठाउँदै आएकी छन् । ‘रुद्रप्रिया’ मा एसिड काण्ड, ‘रामप्यारी’मा महिला बेचविखन र अब ‘मालिका’ मा उनले बाल विवाहको विषय उठाएकी छन् । जुन सिनेमाको शिर्ष गीत सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेकी छन् ।

उनको राजनीतिक यात्राको पनि बेलाबखतमा खुबै आलोचना हुने गर्छ । जिन्दगीका पाइलाहरु जसरी अगाडि बढाएपनि नेपाली फिल्मकी नम्बर वान नायिका रेखा थापालाई द सिनेमा टाइम्सको तर्फबाट सिनेमा करिअरको लागि सफलताको शुभकामनासँगै जन्मदिनको पनि शुभकामना !