बक्स अफिसमा कहिले चम्किने, कहिले अस्ताउने

बक्स अफिसमा कहिले चम्किने, कहिले अस्ताउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता रनबिर कपूरको बक्स अफिस करिअर उतारचढावपूर्ण छ । कहिले उनि बक्स अफिसमा सबैलाई चकित पार्दै चम्किन्छन्, त कहिले उठ्नै नसक्ने गरि पछारिन्छन ।

उनको २००७ को डेब्यु सिनेमा ‘सावरिया’ पनि बक्स अफिसका लागि राम्रो भएन । भलै उनले डेब्युबाट फिल्म फेयर अवार्ड हात पारे । यिनका रिलिज सिनेमालाई बक्स अफिसमा नियालेर हेर्ने हो भने कतिले रेकर्डतोड कमाई गरेका छन् भने कतिले पानि माग्न नि पाएका छैनन् । तर, रनबिर अभिनयबाट सधै छाउछन ।

रनबिरको डेब्यु सिनेमा फ्लप भएपनि त्यसपछिका ‘बचना ए हसिनों’, ‘वेक अप सिड’, ‘अजब प्रेमकी गजब कहानी’, ‘रकेट सिंह – सेल्सम्यान अफ दि ईयर’, ‘राजनीति’ले बक्स अफिसमा निराश तुलाएनन । त्यसपछिको ‘अन्जना अन्जानी’ र ‘रकस्टार’ले पुन: रनबिरलाई धक्का लगाए । तर ‘रकस्टार’बाट रनबिरले वर्षभरिका अवार्डमा कब्जा जमाएका थिए ।

त्यसपछिको ‘बर्फी’ले रनबिरलाई बक्स अफिस र अभिनयमा उचाइ दियो । यसलाई रनबिरको करिअरकै सर्वाधिक राम्रो सिनेमा पनि मानिन्छ । २०१२ मा रिलिज ‘बर्फी’ उनको सय करोड क्लबको पहिलो सदस्य पनि थियो । २०१३ मा रिलिज ‘ए जवानी हे दिवानी’ले बक्स अफिसमा झण्डा गाड्न सफल भएपनि त्यहि साल रिलिज ‘बेशरम’ बक्स अफिसमा पछारियो । ‘ए जवानी हे दिवानी’ बक्स अफिसमा २ सय करोड नजिक पुग्दा, ‘बेशरम’ले ६० करोड पनि कमाउन सकेन ।

पुन: सुरु भयो रनबिरका फ्लप सिनेमाको वर्षात । ‘रोय’, ‘बम्बै भेल्भेट’, र ‘तमाशा’को असफलताले उनको करिअर धर्मराउन थाल्यो । २०१६ मा रिलिज बिग बजेटको ‘ए दिल हे मुस्किल’ले जसोतसो सय करोड कमाए पनि २०१७ मा रिलिज ‘जग्गा जासुस’ रनबिरको करिअरकै सर्वाधिक असफल सिनेमाको सुचीमा पर्यो । १ सय २५ करोडको बजेटमा निर्मित सिनेमाले अर्धशतक मात्र पार गर्यो ।

२०१८ रनबिरका लागि फेरि फलदायी हुने देखिएको छ । प्रदर्शनरत सिनेमा ‘सन्जु’ले पाँच दिनमै १ सय ६७ करोड माथि कमाई गरिसकेको छ ।  सिनेमाले सिंगल डे कलेक्सनमा ‘बाहुबली २’को रेकर्ड तोड्न सफल भयो । संजय दत्तको जीवनीमा आधारित सिनेमाले ३ सय करोडको आँकडा छुने अनुमान गरिएको छ ।

उतारचढावपूर्ण करिअरमा रनबिरको आगामी सिनेमा ‘ब्रहमास्त्र’ र ‘समशेरा’ले कस्तो व्यापार गर्लान त ? के ‘सन्जु’को जस्तै बम्पर व्यापारको बाटोमा यी सिनेमा रहलान ?