‘प्रेमगीत २’ टाइटल गीत रोहित र श्रेयाले गाए

‘प्रेमगीत २’ टाइटल गीत रोहित र श्रेयाले गाए

द सिनेमा टाइम्स
0
Shares

रक गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले ‘प्रेमगीत २’ को शीर्ष गीत गायनमा टीमअप गरेका छन् । यी दुईले विहिबार जमलस्थित डोरेमी स्टुडियोमा गीत रेकर्ड गरे ।कल्याण सिंहको संगीतमा बुनिएको गीतमा मेल र फिमेल भर्सन रेकर्ड भएका हुन् । अमृत मरहठ्ठाले लेखेका शब्दमा भरिएको संगीत कर्णप्रिय लाग्छ ।क्षेत्रीका लागि प्रेमगीत २ यसकारण महत्वपूर्ण पनि छ कि १९७४ एडी ब्यान्डका यी भोकलिस्ट यही गीतमार्फत पाश्र्वगायनमा डेब्यु गर्दैछन् । ‘हिट फिल्मको टाइटल गीतमार्फत डेब्यु गर्न पाउँदा उत्साहित छु’ उनले मिडियासँग खुशि बाँडे ।

संगीतकार सिंहले थाइल्यान्ड थीममा गीत कम्पोज गरिएको बताए । अन्तरदेशिय प्रेमकथा बुनिएकाले गीत पनि प्रभावशाली हुने आशा उनले लिए । यसपटक प्रेमगीत २ नेपाल छिचोलेर थाइल्यान्ड र म्यानमार पुग्दैछ । त्यो महसुस शीर्ष गीतमा हुन्छ ।‘संगीत रेकर्डको काम सकियो र हामी अब बाँकी छायांकनमा फोकस हुन्छौं’ निर्माता सन्तोष सेनले भने, अब रारातालतर्फ प्रस्थान गर्छौं ।’ काठमाडौं, पोखरा, लुम्बिनी र सुर्खेत छायांकन सकिएको छ ।रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । यो प्रेमकथा र सांगीतिक फिल्मलाई आशुषेन प्रोडक्सनले निर्माण गरेको हो । ओम गुरुङ सहनिर्माता हुन् ।