‘प्रसाद’मा विपिन र नम्रताको सशक्त जोडी, किन मन पराइयो सिनेमा ?

‘प्रसाद’मा विपिन र नम्रताको सशक्त जोडी, किन मन पराइयो सिनेमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मसिंर २१ अर्थात् गएको शुक्रबारबाट रिलिज भएको सिनेमा ‘प्रसाद’ लाई दर्शकले रुचाए । यो सिनेमाको विषयवस्तु र निर्देशकीय पक्षको त खुलेर तारिफ भयो नै । त्योसँगै कलाकारको अभिनयलाई पनि दर्शकले उत्तिकै रुचाए ।

सिनेमाले समीक्षात्मक रुपमा मात्र होइन, व्यापारिक रुपमा पनि राम्रो व्यापार गर्यो । निर्माण टिमले सिनेमाले आइतबारसम्म एक करोडको व्यापार गरेको आँकडा सार्वजनिक ग¥यो । सिनेमामा मुख्य भूमिकामा देखिएका विपिन कार्की र नम्रता श्रेष्ठको अभिनयको पनि उत्तिकै तारिफ भएको छ ।

दर्शकले सिनेमा हेरिसकेपछि विपिन कार्की र नम्रता श्रेष्ठले गरेको कामको खुलेर तारिफ गरेका छन् । सिनेमामा निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । निश्चल विपिन कार्कीको साथी भएर अभिनय गरेका छन् ।

धेरैले सिनेमाकी नायिका नम्रता श्रेष्ठ र विपिन कार्कीको तारिफ गरेका छन् । कतिपयले यो सिनेमालाई समाजको कथा भन्ने एउटा उदाहरणीय सिनेमा भएको समेत बताएका छन् ।

सिनेमा हेरिसकेपछि दर्शकले सामाजिक सञ्जालमा लेखेर विपिन र नम्रताको कामको खुलेरै अभिनय गरेका हुन् । काठमाडौंको सिभिल मलमा रहेको हलबाट निस्किँदै गरेका एक दर्शकले द सिनेमा टाइम्सलाई सुनाए, ‘मलाई त सिनेमाले मन छोयो, यत्तिको सिनेमा बनेपछि त नेपाली दर्शकले सिनेमा मन पराएनन् भनेर भन्नै पर्दैन नि ।’

यो सिनेमालाई सबै उमेर समूहका दर्शकले रुचाएको निर्माण टिमले बताएको छ । सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुशील पौडेलले लेखेका हुन् । निःसन्तान दम्पती र अन्तर्जातीय विवाहलाई विषय बनाएको सिनेमालाई सुभाष थापाले निर्माण गरेका हुन् ।

किन मन पराइयो सिनेमा?

नेपाली सिनेमामा रोनाधोनाको सिनेमा बनेपनि यस्तो खालको विषयमा खासै सिनेमा बनेको पाइँदैन । एकै खालका सिनेमाले बजारको मूल्यांकन गरिरहेका बेला पृथक प्रस्तुतिलाई दर्शकले रुचाएको अनुमान गरिएको छ । यो सिनेमाले बाग्लुङमा बोलिने भाषिका र अन्तर्जातीय कथालाई पनि राम्रोसँग उठाएकाले पनि सिनेमाको चर्चा भएको हो ।

सिनेमा दर्शकले रुचाउनुको अर्को कारण कलाकारको छनोटलाई पनि हेर्ने गरिएको छ । सिनेमाका मुख्य तीन पात्र विपिन, निश्चल र नम्रता मात्र होइनन्, अन्य कलाकारको अभिनयको पनि राम्रो भएकाले सिनेमा रुचाइएको हो । एकजना समीक्षक भन्छन्, ‘अरु धेरै फ्याक्टर होलान् तर सिनेमा चल्नुको मुख्य कारण कलाकारको अभिनय र यसको कथा नै हो ।’