नम्रता र विपिन स्टारर ‘प्रसाद’को लिरिकल भिडियो रिलिज

नम्रता र विपिन स्टारर ‘प्रसाद’को लिरिकल भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – मंसिर २१ ग्ते रिलिज हुने सिनेमा ‘प्रसाद’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । ‘लै लै….’ बोलको गीत सहित कलाकारको फस्टलुक पनि सार्वजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा सिनेमाका चल अचल दृश्यहरु समेटिएको छ । लिरिकल भिडियोको सार्वजनिक दृश्यमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अटाएका छन् ।

निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा बोल्ने ‘प्रसाद’मा विपिन र नम्रताले दम्पत्तिको भुमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ । केतन क्षत्रीले गाएको लै लै’ बोलको उक्त गीतका शब्द गणेश शाहीले लेखेका हुन् भने संगीत सुवाष भुषालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । सिनेमाका निर्देशक दिनेश राउतले प्रसादको पुरा मर्मलाई ‘लै लै…..’ बोलको गीतले समेट्ने भएकोले नै सिनेमाको फस्टलुक सहित यस गीतलाई सार्वजनिक गरिएको बताए । त्यसो त सिनेमामा अर्को गीत पनि रहेको उनले बताए ।

सुवास थापाको निर्माण रहेको ‘प्रसाद’को पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । सिनेमा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुराउन सक्छ भन्ने देखाउन खोजिएको छ । युट्युबबाट गीत रिलिजसँगै सिनेमा युनिट आइतबार साँझ नै त्यसको प्रतिक्रिया बुझ्न र सिनेमाका बारेमा जानकारी दिन फेसबुकमा दर्शकसँग प्रत्यक्ष कुराकानीका लागि प्रस्तुत हुन लागेको निर्देशक राउतले बताए ।