टिजर: ‘पण्डित बाजेको लौरी’को पहिलो झलक

टिजर: ‘पण्डित बाजेको लौरी’को पहिलो झलक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपक ओली निर्देशित सिनेमा ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । एउटा सानो गाउँ भित्र पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको सिनेमाले समाजका गहकिला समस्या र घटनालाई समेटेको छ ।

बादी जातीको कथालाई पनि सिनेमामा प्रस्तुत गरिएको छ । जहाँ विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’ (स्थानीय भाषामा बादी समुदायको स्त्रीलाई गरिने सम्बोधन) भूमिकामा रहेको बुझ्न सकिन्छ । बादीले जीविकोपार्जनको लागि मादल बनाउछन् । भने, बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । तल्लो जात भनेर हिपिने बदिनी र समाजको ठुलो जात पण्डितविचको सम्वन्धलाई पनि सिनेमामा प्रस्तुत गरिएको निर्देशक ओलीले बताए ।

अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको सिनेमामा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ । सिनेमा साउन ४ गते सार्वजनिक प्रदर्शनमा आउदै छ ।