‘प्रसाद’ को भूमिकाबारे के भन्छन् निश्चल

‘प्रसाद’ को भूमिकाबारे के भन्छन् निश्चल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यतिबेला चलचित्र ‘प्रसाद’ को चर्चा भइरहेको छ । निःसन्तान दम्पतीको कथामा बनेको यो फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका छ । यी तिनै कलाकार दर्शकले रुचाएका कलाकार हुन् ।  सिनेमाको कथालाई लामो समयदेखि सिने पत्रकारिता र समीक्षा गर्दै आइरहेका सुशील पौडेलले लेखेका हुन् । दिनेश राउतले यो फिल्म निर्देशन गरेका छन् ।

सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच भेटिएका निश्चल बस्नेतले मसिंर २१ गते प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद’ को भूमिकाका बारेमा केही खुलाए । साथै उनले उक्त फिल्मले आफूलाई आशावादी बनाएको पनि बताए ।

‘यो चलचित्रमा मेरो भूमिका मुख्य पात्रको द्वन्द्वलाई अझ दुःख दिने खालको छ, ट्रेलर हेर्दा दर्शकले म नेगेटिभ भूमिकामा छु कि भनेर सोच्नुभएको छ’, निश्चलले द सिनेमा टाइम्सलाई भने, ‘केही नेगेटिभ नै हो, यदि मेरो भूमिका हेरेर दर्शकलाई मप्रति रिस उठ्यो भने म सफल भएको ठान्नेछु ।’

चलचित्रमा उनी विपिन र नम्रताबीचको पारिवारिक द्वन्द्वलाई अझ जटिल बनाउने ‘भिलेन’ को भूमिकामा छन् । पछिल्लो समय फिल्म निर्देशनमा भन्दा पनि अभिनय र निर्माणमा सक्रिय देखिएका बस्नेत आफूले भनेजस्तो फिल्म बनाउन नसक्ने अवस्था भएसम्म फिल्म निर्देशन नगर्ने बताए ।

‘अरुलाई मन नपर्ला, त्यो अर्को पाटो भयो, म आफैलाई चित्त नबुझ्ने फिल्म नभएसम्म फिल्म निर्देशन गर्दिन, दर्शकले मलाई निर्माण र अभिनयका माध्यमबाट देख्नुहुनेछ ।’, उनले भने ।