बैशाखमा खडेरी, जेठमा बाढी !

बैशाखमा खडेरी, जेठमा बाढी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बर्ष ०७४ को सुभारम्भमा तीन नेपाली फिल्म सार्वजनिक भए । गएका बर्षझैँ यो बर्षको सुरुवात उत्साहपूर्ण भने हुन् सकेन । सार्वजनिक भएका ‘लभ लभ लभ’, ‘राधे’, र ‘घामपानी’ले धमाकेदार कमाई गर्न सकेनन । तर, सन्तोषजनक व्यापारिक रिपोर्ट भने मिडियामा आईरहे ।

बैशाखको एक साता देशभरका हल नेपाली फिल्ममय भएपनि चार साता भने सुख्खा सरह भएका छन् । पछिल्लो चार सातामा चर्चा निक्कै कम भएका दुई फिल्म सार्वजनिक भए । त्यो पनि दक्षिण भारतीय फिल्म ‘बाहुबली २’को चपेटामा । ‘ब्ल्याक डायरी’ र ‘बन्धन’ सार्वजनिक भएपनि सुख्खा याममा शितलता प्रदान गर्न सकेनन । नेपाली फिल्म रिलिज नहुदा हलिउड ‘फास्ट एण्ड फ्युरियस ८’ले पनि मल्टीप्लेक्समा राम्रो स्थान पायो । ‘बाहुबली २’ अहिले देशभर उत्साहजनक व्यापारका साथ प्रदर्शनरत छ । बैशाख अन्तिम साताको लागि अहिलेसम्म कुनै पनि फिल्मले प्रदर्शन मिति तोकेका छैनन् । यसअर्थमा रिलिजका हिसाबले बैशाख महिना नेपाली फिल्मको लागि खडेरी सरह सावित भयो ।

तर, जेठ महिनामा नेपाली फिल्मको बाढी नै आउने भएको छ । चार शुक्रबार रहेको जेठ महिनामा ९ फिल्मले रिलिज मिति घोषणा गरेका छन् । जेठ पहिलो साताको ‘डायरी’लाई छोडेर अन्य फिल्मले भने बक्सअफिसमा एकअर्कासंग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

जेठ ५: ‘डायरी’

छुल्ठिम गुरुङले निर्माण गरेको ‘डायरी’संग प्रतिस्पर्धा गर्न अहिलेसम्म कुनै पनि फिल्म घोषणा भएका छैनन् । तर, नेपाल हो यसै भन्न सकिन्न, किनकी यहाँ शुक्रबारकै दिन कुनै पनि फिल्मले रिलिज मिति घोषणा गरेर सार्वजनिक हुन् सक्छन । रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंह अभिनित फिल्मलाई अनिल थापाले निर्देशन गरेका हुन् । रेखा थापा खलपात्रमा चित्रित यो फिल्म ट्रेलरका कारण चर्चामा छ ।

जेठ १२: ‘हिटलर’ र ‘पर्व’

दिनेश राउत निर्देशित ‘पर्व’ र सौरभ ढकाल निर्देशित ‘हिटलर’ यो मितीका नेपाली प्रतिस्पर्धी हुन् । ‘पर्व’मा नम्रता श्रेष्ठ र कोशिस क्षेत्री र ‘हिटलर’मा सोहित मानन्धर र सामिया बर्तौलाको मुख्य भूमिका रहेको छ । यी दुवै फिल्मले बक्सअफिसमा एकअर्कालाई कडा टक्कर दिन सक्छन । ‘पर्व’को ‘काले दाई’ बोलको गीत अहिले चर्चामा छ । त्यस्तै ‘हिटलर’ ‘मोमो चाउमिन’ गीतले पनि दर्शक श्रोता कमाईरहेको छ ।

जेठ १९: ‘रातोघर’, ‘जोनी जेन्टलम्यान’ र ‘जालो’

विश्व रेकर्ड राख्ने लक्ष्यका साथ एकसटमा खिचिएको ‘जालो’लाई अराज केशवले निर्देशन गरेका हुन् । यो फिल्ममा ‘मेनुका प्रधान, अनुपबिक्रम शाही, रेमनदास श्रेष्ठ, निर शाह लगायतका कलाकारको अभिनय छ । ‘रातोघर’लाई सुरजसुब्बा नाल्बोले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विल्सनविक्रम राई, मेनुका प्रधान र संयम पुरीको अभिनय छ । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ ।

जेठ २६: ‘लालटिन’, ‘आधा लभ’ र ‘मेरी कुशुम’

देवकुमार श्रेष्ठ निर्देशित ‘लालटिन’, अर्पण थापा निर्देशित ‘आधा लभ’ र एनआर घिमिरे निर्देशित ‘मेरी कुशुम’ जेठ अन्तिम साताका प्रतिस्पर्धी हुन् । ‘लालटिन’मा दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका छ । भने, ‘आधा लभ’मा ऋचा शर्मा, अर्पण थापा, मिथिला शर्मा र टिका पहारीले अभिनय गरेका छन् । फिल्म ‘मेरी कुशुम’मा अभिनेत्री हर्षिका श्रेष्ठको अभिनय छ ।

संख्यात्मक रुपमा जेठमा आएको यो बाढीले दर्शक तथा निर्मातालाई कस्तो असर पुर्याउला त ?