पश्चिमेली लबज बोल्न निश्चल र विपिनले सहयोग गरे: नम्रता श्रेष्ठ

पश्चिमेली लबज बोल्न निश्चल र विपिनले सहयोग गरे: नम्रता श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

काठमाडौं । आउँदो मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ नेपाली समाजको कथा भएको सिनेमाकी मुख्य नायिका नम्रता श्रेष्ठले बताएकी छिन् ।

उनले एक पत्रकार भेटघाटमा बोल्दै यो सिनेमा समाजकै आफ्नै कथा भएको र सिनेमामा पात्र नारायणी, बाबुराम र रमेश यही समाजका पात्र भएको बताइन् ।

‘यो सिनेमा सोसल ड्रामा’ हो, म सिनेमालाई लिएर केही उत्साहित पनि छु नर्भस पनि छु, किनकि फिडब्याक राम्रो आइरहेको छ तर दर्शकको चाहना पूरा गर्न सकिने हो कि हैन भनेर डर पनि लागिरहेको छ ।’, नम्रताले द सिनेमा टाइम्ससँग भनिन् ।

साथै उनले सिनेमामा आफूले नारायणीको भूमिका निभाएको पनि खुलाइन् । सिनेमामा बाबुराम र रमेश बनेका दुई पात्र विपिन कार्की र निश्चल बस्नेतले शूटिङको बेलामा पश्चिमे टोन ल्याउनलाई उत्तिकै सहयोग गरेको पनि उनले बताइन् । ट्रेलरमा उनको बोल्ने तरिका केही भिन्दै छ ।

‘हामीले वर्षमा एउटा फिल्म ल्याउँछौँ, त्यसकारण पनि दर्शकमा हामीप्रति विश्वास छ, हामीले आफ्नो तर्फबाट सक्दो मेहनत गरेका छौँ ।’, उनले भनिन् ।

‘लै लै’ र ‘वनकी चरी’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । यो सिनेमाको ट्रेलरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सिनेमाको चर्चाका कारणले युरोप, अस्ट्रेलिया लगायतका देशको राइटस् पनि विक्री भइसकेको निर्माण टिमले जनाएको छ ।

सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् । यसअघि उनी निर्देशित सिनेमा ‘पर्व’ रिलिज भएको थियो । यस्तै सिनेमालाई सुशील पौडेलले लेखेका हुन् । समीक्षक तथा सिने पत्रकार सुशील पौडेलको यो पहिलो सिनेमा हो । उनले यो सिनेमा विद्यालयमा हुँदाखेरी नै सोचेको कथामा लेखेको बताउँदै आएका छन् ।

सिनेमाले निःसन्तान दम्पतीको जीवनमा आइपरेका अनेक समस्यालाई उठाएको छ ।