करोड भ्युज पाउने १० सिने संगीत (भिडियो कथा)

करोड भ्युज पाउने १० सिने संगीत (भिडियो कथा)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २ वर्ष यता नेपाली सिनेमाका गीत दर्शक र श्रोताको पहिलो रोजाईमा पर्ने गरेका छन् । त्यो तथ्यलाई युट्युब हेरेरै आत्मसात गर्न सकिन्छ ।

अहिले दर्शक हलसम्म तान्न सिनेमामा सकेसम्म राम्रो गीत/संगीत पस्किने होडबाजीनै चलेको छ । फलस्वरूप एकाध सिनेमालाई छोडेर अन्य सिनेमाले गीतबाटै राम्रो फाईदा लिईरहेका छन् । ‘राम्रा जति हाम्रा बन्न सक्छन’ भने दर्शक र श्रोताले सिने संगीतलाई साथ पनि दिईरहेका छन् ।

गीत हिट हुनुमा पहिलो संगीतकार, गीतकार, गायक अनि त्यसै गरि निर्माता र कोरियोग्राफरलाई श्रेय जान्छ । संगीतकारले गीत/संगीतको बजार हेरेर राम्रो संगीत पस्किदा निर्माता र कोरियोग्राफरले पनि गीतको भिडियो राम्रो बनाउँन राम्रै मेहनत गरेको देखिन्छ ।

नयाँ लोकेशन, महँगो सेट, कस्टुम, भारी कोरस प्रयोग गरिएका गीतका भिडियो हेर्दा आँखा नबिझाउने भएकाले दर्शक श्रोता नेपाली सिनेमाका गीत लाई दोहर्याई/तेहर्याई हेर्न गर्छन । जसले गर्दा सिनेमा संगीतले युट्युबमा राम्रो भ्यु पाईरहेका छन् ।

डेढ वर्ष अघि ‘वडा नम्बर ६’मा समावेश ‘सुर्के थैली’ले युट्युबमा पहिलो पटक करोड भ्यु क्रस गर्यो । यो समयसम्म आईपुग्दा युट्युबमा टोटल १४ नेपाली गीतले करोड भ्यु क्रस गरिसकेका छन् । जस मध्ये १० गीत सिनेमाका छन् । १० सिनेमाका गीत मध्ये ३ गीतले २ करोड र १ गीतले ३ करोड भ्युको माइलस्टोन पनि पार गरेका छन् ।  हामीले यहाँ युट्युबमा पहिलो करोड बढी भ्यु पाउने १० गीतको बारेमा जानकारी दिदैछौ ।

कुटुमा कुटु (दुई रुपैयाँ):

यो युट्युबमा सर्वाधिक भ्यु पाउने गीत हो । राजनराज सिवाकोटीको शब्द/संगीतमा तयार भएको गीतलाई यो सामाग्री तयार गर्दा सम्म ३ करोड ४५ लाख बढी भ्युज मिलेको छ । गीतमा मेलिना राई र स्वयम् संगीतकारको स्वर छ । थुप्रै कोरस प्रयोग गरिएको यो गीतमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्दी तामाङ, आसिफ शाह फिचरिङ छन् । शब्द/संगीत र कोरियोग्राफी रुचाइएको यो गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । यो गीतको दैनिक भ्युज १ लाख माथि छ ।

सुर्के थैली (वडा नम्बर ६):

राजनराज सिवाकोटीकै शब्द/संगीत रहेको यो गीतलाई केहि समय अगाडी मात्र ‘कुटुमा कुटु’ले उछिनेर युट्युबमा सर्वाधिक भ्युज पाउने नेपाली गीत बनेको थियो । अहिलेसम्म २ करोड ३० लाख बढी भ्युज पाएको गीतमा अन्जु पन्त, राजु विश्वकर्मा र संगीतकार स्वयम्कै स्वर छ । प्रियंका कार्की, दयाहाङ राई, दीपकराज गिरी, दीपाश्री निरौला, सिताराम कट्टेल, केदार घिमिरे लगायतका कलाकारले कम्मर मर्काएको गीतका निर्देशक शंकर विसी हुन् ।

ठमेल बजार (लूट २):

यो सर्वाधिक भ्यु पाउने आइटम नम्बरमा पर्छ । एलिशा राई, दयाहाङ राई, निश्चल बस्नेत फिचरिङ गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द/संगीत छ । भानुभक्त ढकाल, मीना निरौला र कालीप्रसादकै स्वर रहेको गीतलाई अहिलेसम्म २ करोड २३ लाख बढी भ्युज प्राप्त भएको छ । यो गीतबाट विक्रम स्वारले कोरियोग्राफीमा डेब्यु गरेका थिए ।

पुर्व पश्चिम रेल (छक्का पन्जा):

राजनराज सिवाकोटीकै शब्द/संगीत रहेको यो गीतले २ करोड बढी भ्यु प्राप्त गरेको छ । अन्जु पन्त र सिवाकोटीकै स्वर रहेको गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् । गीतमा प्रियंका कार्की, बर्षा राउत र नम्रता सापकोटाले कम्मर मर्काएका छन् ।

काले दाई (पर्व):

१ करोड ८७ लाख भ्युज पाएको यो गीतमा निर्देशक निश्चल बस्नेत र आइटम गर्ल माला लिम्बुले कम्मर मर्काएका छन् । दिनेश राउतको शब्द, कोशिश क्षेत्रीको संगीत रहेको यस गीतमा मिना निरौला र निश्चल बस्नेतको स्वर छ । महँगो सेटमा खिचिएको यस गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

ए दाजु नसमाउ (छक्का पन्जा २):

वर्षकै कन्ट्रोभर्सियल गीतले युट्युबमा द्रुत गतिमा भ्यु पाईरहेको छ । छोटो समयमै गीतले १ करोड ५७ लाख भ्युज प्राप्त गरिसकेको छ । प्रिन्स र दीपकराज गिरीको शब्द, प्रिन्स र स्वर्गीय कान्छा मगर नेपालीको संगीत रहेको यस गीतमा अल्मोडा राणा उप्रेती र सुजाता वर्माको स्वर छ । कविराज गहतराजकै कोरियोग्राफी रहेको गीतमा वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे र स्वरूपपुरुष ढकाल फिचरिङ छन् ।

सिरैमा शिरबन्दी (हाउ फन्नी):

बसन्त सापकोटाको शब्द/संगीत रहेको यो गीतले १ करोड २८ लाख बढी भ्युज पाईरहेको छ । मेलिना राईको स्वर रहेको गीतमा रेनषा राईको कोरियोग्राफी छ । प्रियंका कार्की फिचरिङ गीतको भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।

कसम हो कसम (ए मेरो हजुर २):

पहिलो पटक विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल परिसरमा खिचिएको यो भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह कामुक रुपमा प्रस्तुत भएकी छन् । डा, कृष्णहरि बरालको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत र सुगम पोखरेलको स्वर छ । रेनषा राईको कोरियोग्राफी रहेको यो गीतमा साम्राज्ञीसँग सलिनमान बनियाँ पनि फिचरिङ छन् । गीतले अहिलेसम्म १ करोड ११ लाख बढी भ्युज पाईसकेको छ ।

भन्छु आज (म यस्तो गीत गाउँछु):

यो गीतमा पूजा शर्मा र पल शाह फिचरिङ छन् । युट्युबमा करोड भ्युज पाउने पनि ‘लभ सङ’ ‘भन्छु आज’मा अर्जुन पोखरेलको संगीत र सुदर्शन थापाको शब्द छ । १ करोड ९ लाख भ्युज पाईसकेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ ।

कम्मर माथि पटुकी (नाइँ नभन्नु ल ३):

लामो समय लगाएर करोड भ्यु पाउने यो गीतमा आर्यन सिग्देल र प्रियंका कार्की फिचरिङ छन् । १ करोड ८ लाख बढी भ्युज रहेको गीतमा एकनारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पल्हाद तिमिल्सिना/मेलिना राईको स्वर छ ।