एक समय फिल्म क्षेत्र बोकेका थिए महानायक हमालले

एक समय फिल्म क्षेत्र बोकेका थिए महानायक हमालले

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – महानायक राजेश हमाल त्यसै ‘महानायक’ भएका होइनन् । नेपाली फिल्म क्षेत्रमा उनले दिएको योगदान असामान्य छ । निरन्तर एकपछि अर्को फिल्ममा अभिनय गरेर केही विरोध खेपेपनि उनी सबैका ‘हिरो’ भएका छन् ।

 

अहिले भने उनले केही आरामको समय बिताइरहेका छन् ।यही मौका पारेर राजेश हमालको करिअर सकिएको, धेरै फिल्म खेलेका कारण करिअरमा असर परेको जस्ता आरोप पनि लागिरहेका छन् उनलाई । तर हमाललाई भने यस्ता कुरालाई खासै प्रभाव पार्दैन ।

 

एक जमानामा एकपछि अर्को गर्दै फिल्ममा देखिने महानायक राजेश हमाल वर्षमा बाह्र वटासम्म फिल्म खेलेको बताइन्छ ।  उनी पछिल्लो समय केही सुस्त त देखिएका छन् तर हराएको भन्न भने पक्कै मिल्दैन । किनकि, आफ्नो कालमा निभाएका केही फिल्मले उनलाई जीवन्त चर्चामा राख्छ ।किन यति धेरै लोकप्रिय छन् उनी? यसको उत्तर हमालको इतिहासलाई खोजे भेटिन्छ । 
उनले अभिनय गरेका पात्रलाई भेटिन्छ । उनी देख्दा हिरो भएर मात्रै दर्शकले रुचाएका हैनन् । राजेश हमालले निभाउने हरेक पात्रमा आफूलाई भेटेर दर्शकका प्रिय पात्र बनेका हुन् उनी ।

उनले अभिनय गर्ने पात्रहरु प्रायः तल्लो वर्गका हुन्थे । जो समाजमा लडिरहन्थे । समाजका हुने खाने वर्गसँग लड्थे । दुःखमा परेका सर्वहाराका लागि ‘फलामका हात’ थिए उनी । भरियाको भूमिकामा पनि उत्तिकै स्वभाविक देखिन्थे ।
यही कारणले हुनुपर्छ, राजेश हमाल अहिले पनि दुःखी वर्गका प्रतिनिधि पात्र बनेका छन् । चाहे विदेश होस्, चाहे नेपाल । उनको क्रेज उत्तिकै छ । उनी सबैका ‘राजेश दाइ’ भएका छन् ।नेपाली फिल्म वृत्तमा राजेश हमाल ब्राण्डले जुन लोकप्रियता कमाएको छ, त्यो हमालले आफ्नै मेहनतका कारण बनाएको मूलबाटो हो ।

दुई दशकभन्दा लामो समय फिल्म क्षेत्रमा सक्रिय हमाल आफ्नो पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ पछि उनलाई फिल्म क्षेत्रमा पछाडि फर्केर हेर्नु परेन । के पनि भनिन्छ भने, राजेश हमालले नेपाली फिल्म क्षेत्रलाई कुनै बेला एक्लै बोकेर हिँडेका थिए ।

अहिले उनको क्रेज केही घटेको त छ तर अझै पनि उनको सम्मान र व्यस्तता घटेको छैन । लामो समय एउटा क्षेत्रमा काम गरिसकेपछि केही समय विश्राम लिनु सामान्य भएको बताउने हमालले केही वर्षयता फिल्ममा देखिएका छैनन् । देखिएका फिल्मबाट पनि उनले आशा गरिएअनुरुप चर्चा पाउन सकेनन् ।

 

शायद अब भने राम्रो प्रोजेक्टमा काम गर्ने भनेर कुरिरहेका छन् उनी । बेलाबेलामा उनी आफै फिल्म निर्माण गर्ने भन्ने चर्चा पनि चल्ने गर्छ । तर, साँच्चिकै केही समय उनलाई आराम चाहिएको नै हो ।

दुई दशक लामो रेसमा अलिकति थकान लाग्नु स्वभाविक हो । सबैका प्रिय राजेश हमाललाई उनका प्रिय दर्शकले पक्कै प्रतीक्षा गरिरहेका त छन् नै । राम्रो ब्यानरबाट राम्रो फिल्मसहित आउने सोच बनाएका राजेश हमालको कमब्याक फिल्म क्षेत्रका लागि पनि उत्तिकै जरुरी भइसकेको छ ।