रेखा थापा स्टारर ‘मालिका’को दोस्रो गीत रिलिज

रेखा थापा स्टारर ‘मालिका’को दोस्रो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमामा सर्वाधिक सफल अभिनेत्री रेखा थापाले निर्माण, निर्देशन तथा अभिनय गरेको सिनेमा मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ । सर सर बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा आस्था रावतको स्वर छ ।

मालिकाको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र कमला ओली र रेखा थापालाई फिचर्ड गरिएको छ । गीतबारे रेखा भन्छिन्, ‘गीतमा छोरी चेलीको आजको अवस्था बिम्बित गरिएको छ । यो गीत सबै प्रकारका असमानता, बिभेद र आक्रमण बिरुद्धको आवाज हुनेछ ।’ हरेक सिनेमामा नारी सशक्तिकरणको आवाज उठाउने रेखाले यसपटक ‘मालिका’ मा बाल विवाहको कथालाई टिपेकी छन् ।

सार्वजनिक गीतले पनि मूल कथालाई प्रस्ट्याएको छ । सशक्त र कमजोर नारीको कथा सिनेमाले वाचन गर्ने रेखा बताउँछिन् । रामशरण उप्रेतीको छायांकन रहेको यो सिनेमा यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको सिनेमामा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।

नर कार्की सिनेमाका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ को ‘हल्का माया’ बोलको गीत अहिले चर्चामा छ । ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको सिनेमा ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् । एक्सन अभिनेत्रीको छवि बनाएकी उनले अचेल समाजमा जरा गाडेर बसेका विकृती र विसंगतिलाई सिनेमा मार्फत् टिप्न थालेकी छन् ।