“दयाहाङलाई हेरेर लेखिएको थियो लभ लभ लभ”

“दयाहाङलाई हेरेर लेखिएको थियो लभ लभ लभ”

द सिनेमा टाइम्स
0
Shares

चैत्र २९, २०७३- ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा देखिएकी एउटी सानी चुलबुले पात्र थिइन्, स्वस्तिमा खडका । छोटै भूमिकाबाट नोटिस हुने भाग्यमानी स्वस्तिमा यति बेला लिड रोलमा आफ्ना फयानका लागि ‘लभ लभ लभ’ कोसेलीका रूपमा लिएर आएकी छन् ।दीपेन्द्र के खनालको लेखन/निर्देशन ‘लभ लभ लभ’ मा स्वस्तिमा सुरज पाण्डेको अपोजिटमा छिन् । आमा शर्मिलाकै निर्माणको फिल्मबाट डेब्यु गरेका सुरजले यति बेला निर्माताको छोरो भएर ‘हिरो’ बनेको बजारी हल्ला सुन्नु परिरहेको छ । कस्तो लाग्दो हो ?

 ‘मलाई खासै नराम्रो लाग्दैन,’ हालैको भेटमा सुरजले हाँसीहाँसी भने, ‘उहाँहरूले बाहिरबाट हेरेर त्यसो भन्नु स्वाभाविकै हो । तर भित्री कुरा मलाई ममीले नभई (निर्देशक) दीपेन्द्र दाइले सेलेक्ट गर्नुभएको हो ।दीपेन्द्रले पनि सहमति जनाए । “खासमा पहिले यो स्टोरी मैले दयाहाङ राईलाई सुनाएको थिएँ । ‘झोले’ गर्दै यो लभस्टोरीमा दया र प्रियंका कार्कीलाई खेलाउने भनेर सुनाएको थिएँ । दयाको व्यस्तताले गर्दा काम हुन सकेन । दयालाई सोचेर क्यारेक्टर बनाएकोले पनि मलाई अलि मोटे–मोटे, हिरोभन्दा पनि क्यारेक्टर लाग्ने मान्छे चाहिएको थियो । सुरजलाई देख्नेबित्तिकै चरित्र आँखामा झल्किसकेको थियो ।’तर दीपेन्द्रले सुरजलाई तौल घटाउनुपर्ने सर्त तेस्र्याए । फिल्म खेल्न पाउने भएपछि सुरजले, दीपेन्द्रका लागि असम्भव जस्तै लागेको, १ सय १२ किलोको तौललाई तीन महिनामा ८० किलोमा झारिदिए ।
अभियन कक्षा त सुरजले पहिल्यैदेखि रंगकर्मी सुनील पोखरेलसँग लिन थालिसकेका रहेछन् । ‘मेरो फिल्म खेल्ने योजना त थियो, तर यति छिटै ब्रेक पाइएला भन्ने थाहा पाएको भए वजन बढ्नै दिने थिइनँ,’ उनले भने । उनले ‘लभ लभ लभ’ मा कान कम सुन्ने र लजालु स्वभावको केटोको भूमिका निर्वाह गरेका छन्, जो सानैदेखिकी साथीलाई प्रेम गर्छ र पाउने अभिलाषा राख्छ ।स्वस्तिमालाई फिल्मको स्क्रिप्ट पढ्नेबित्तिकै यसको सरलपनाले तानेको थियो रे । भनिन्, ‘मलाई सबैभन्दा मन परेको यसको सिम्प्लिसिटी हो । दर्शकले फिल्ममा आफूलाई रिलेट गर्न सक्छन् जस्तो लाग्छ । सबैको लाइफमा कहीं न कहीं भइरहने कुरा यसमा छ । फ्रेन्ड जोनवाला लभस्टोरीलाई दर्शकले मन पराउँछन् होला ।’

आखिर दीपेन्द्रले पनि अचेलको झाँगिँदो ‘फास्टफुड’ शैलीको प्रेम सम्बन्धमा चोखो माया गर्नेको कथा भन्न चाहन्थे । नयाँ–नयाँ प्रयोगको जोखिम मोल्न रुचाउने उनले यस पटक फिल्मलाई ‘लार्जर दयान लाइफ’ हुन दिएका छैनन् रे । ‘फिल्म भनेपछि वास्तविकताभन्दा अलि एक्स्ट्रा बनाउनुपर्छ भन्ने दबाब हुन्छ । तर यस पटक दुई केटाकेटी सँगै हुँदा जे गर्छन्, जस्तो बोल्छन्, त्यही कुरा मैले लुकेर खिचें भने कस्तो देखिएला भनेर प्रयोग गर्न चाहें,’ उनले सुनाए । सोही बमोजिम उनले सुटिङमा कलाकारलाई यो भएन वा त्यो भएन भनेर कुनै प्रेसरै दिएनन्, बरु क्यारेक्टरको माइक्रो इमोसनलाई क्याप्चर गर्नतर्फ लागे ।स्कुल छँदै शिक्षकहरूको क्यारिकेचर गरेर साथीभाइमाझ प्रिय स्वस्तिमाका लागि अभिनय गाह्रो काम नै थिएन । भनिन्, ‘तर फिल्म दुई क्यारेक्टरमा मात्रै फोकस भएकोले झनै काम देखाउने मौका पाएँ ।’१९ वर्षकै उमेरदेखि फिल्म यात्रा थालेकी स्वस्तिमालाई खेलाउन दीपेन्द्रले उनका पति निश्चल बस्नेतको सिफारिस लगाएका थिए । स्वस्तिमा भने यस्ता सिफारिसको विरोधी रहिछन् । ‘त्यो बेला दीपेन्द्र दाइ र मेरो चिनाजानी पनि थिएन,’ उनले प्रस्टै भनिन्, ‘त्यसैले निश्चललाई सोध्नु नर्मल कुरा थियो । तर मलाई निश्चलले रिकमेन्ड गरेको मन पर्दैन ।’ यो कुरा उनले निश्चललाई पनि बिहेअघि नै भनिसकेकी थिइन् रे । थपिन्, ‘यदि ममा क्षमता छ भने सिफासिर गर्नु जरुरी हुन्न । मेरो लागि निश्चलले रिकमेन्ड गर्नु नेगेटिभ देखिन्छ, अरूले हेर्दा ।’

२० वर्षको उमेरमै ब्रेक पाएका सुरज फिल्म रिलिजको संघारमा आइपुग्दा खुसी, उत्साह र डरको त्रिवेणीमा छन् । चरित्रमा पूरै डुब्ने भएकैले आफूलाई जोनी डेप र सौगात मल्लको फयान बताउने सुरज पनि भविष्यमा विविध चरित्रमा आफूलाई प्रमाणित गर्न चाहन्छन् । स्वदेशमै केही गर्छु भन्ने अठोट बोकेको तर लजालु स्वभावको केटोको भूमिकामा रहेका सुरज वास्तविकतामा पनि त्यस्तै छन् । पहिलो पटक स्वस्तिमासँग भेटदा पनि नर्भस भई आफू पसिनाले निथ्रुक्कै भिजेको अझै बिर्सेका छैनन् । पछि दीपेन्द्रले दुईलाई क्लोज क्याम्पमार्फत घनिष्ठ साथी बनाइदिए र मात्रै फ्लोरमा लगे ।सुटिङ युनिट स्याङ्जाको पन्चासेदेखि रसुवाको गोसाइँकुण्डसम्म पुग्यो । स्वस्तिमाका लागि गोसाइँकुण्ड अनुभव भने कहालीलाग्दो रहयो । ‘एकदमै धेरै गाह्रो भएको थियो । हाई अल्टिच्युडको समस्या भयो,’ उनले सुनाइन् । डढेको र सुन्निएको अनुहार लिएर गोसाइँकुण्ड पुगेकी उनलाई अहिले पनि त्यो सम्झँदा आफैंलाई बिचरा भन्न मन्न लाग्छ रे । ‘चिसोले झन्डै बेहोसै हुन लागेको थिएँ । रोएको पनि थिएँ ।’तर तिनै स्वस्तिमा त्यो बेला जति दु:ख भए पनि अहिले सिन हेर्दा रमाइलो लाग्छ भन्न पनि बेर लगाउँदिनन् । गीतको छायांकन गरिएको गोसाइँकुण्डमा जब को–स्टार सुरज तीन–चार वटा स्विटरमाथि कोट लगाएर पनि जाडो भयो भन्थे, तब स्लिभलेस र टयुबवाला ड्रेस लगाइरहेकी स्वस्तिमालाई रिस उठथ्यो रे । भनिन्, ‘हिरोइन हुनुको पीडा त्यहाँ पो रहेछ ।’

साभार :कान्तिपुर>›सुशील पौडेल