लाला ल्यान्ड’ हेरेपछि नेपाली निर्देशक के भन्छन्

लाला ल्यान्ड’ हेरेपछि नेपाली निर्देशक के भन्छन्

द सिनेमा टाइम्स
0
Shares

यसवर्षको अस्करमा १४ विधामा मनोनयन फिल्म लाला ल्यान्डलाई शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ । मूभिमान्डु र एभरेस्ट फिल्म एकेडेमीले फिल्म देखाए । फिल्म हेरिसकेपछि समिक्षक, निर्देशक, प्राविधिक र विद्यार्थीबीच बहस चलाइयो ।बर्लिन फिल्म फेस्टिभलबाट स्कोलरसिप जितेका तन्नेरी पटकथा लेखक राजन कठेतले सरल विषयवस्तुमा कथा भन्ने फिल्म स्टाइललाई नेपाली निर्देशकले सिक्नुपर्ने बताए । ‘हामीले सरल कुरामा विश्वास गर्नुपर्ने आवश्यक छ जसलाई लाला ल्यान्डले चित्रण गरेको छ’ उनले भने ।

पाका निर्देशक एवं गीतकार राजेन्द्र सलभले नेपालको दोहोरी संस्कृतिलाई लाला ल्यान्डले फलो गरेको बताए । ‘हलिउडले त्यसलाई म्युजिकल ड्रामा नै किन नभनोस्’ उनले भने, ‘हाम्रा लागि यो दोहोरी नै हो । बरु, हामीले दोहोरीलाई म्युजिकल ड्रामामा रुपान्तरण गर्नुपर्छ ।’निर्देशक ऋषि लामिछानेले गीतलाई मनोरन्जन र खाली ठाउँ भर्न मात्र लिइने बलिउड र नेपाली प्रवृत्ति गलत रहेको बताए । ‘लाला ल्यान्डबाट संगीत द्धन्द्धको आवश्यक तत्व हो भन्ने कुरा बुझिएको छ’ उनले भने, ‘आज म सिक्न आएको हुँ । यस्ता फिल्मले हामीलाई जान्न र बुझ्न मद्दत गर्छन् ।’

समिक्षक विष्णु शर्माले मोडरेट गरेको सेसनमा एकेडेमीका विद्यार्थीले पटकथा, छायांकन, सम्पादन, रङ संयोजन र ध्वनी मिश्रण गजब लागेको बताए । नेपाली सिनेमा घरमा यसपटक अस्करको बेस्ट फिल्म विधामा मनोनित फिल्म नलाग्ने भएपछि मूभिमान्डुले जमर्को गरेको सम्पादक सोनिया मर्सानीले बताइन् ।उनका अनुसार मुनलाइट, म्यानचेस्टर बाइ द सी, लाइन, ज्याकी, साइलेन्स, अराइभल पाइपलाइनका फिल्म हुन् । यसै साता एकेडेमीको सीइओमा नियुक्त पाका निर्देशक राजेन्द्र सलभले फिल्म हेर्ने संस्कृतिलाई जीवन्त तुल्याउन फिल्म प्रदर्शन प्रभावशाली हुने बताए