महिला जनप्रतिनिधिसँग बनभोज गर्न मन छ !

महिला जनप्रतिनिधिसँग बनभोज गर्न मन छ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनयसँगै अन्य क्षेत्रका काम पनि उत्तिकै चासो राख्छिन अभिनेत्री केकी अधिकारी । अझ भन्नु पर्दा देशको राजनीतिक अवस्था र सामाजिक परिवर्तन लगायतकाका मुद्दामा केकी सामाजिक संजालबाट पनि पोखिन्छिन ।

यस्तै देशमा भर्खरै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनावलाई नजिकबाट नियालेकी र  जारि मतगणनाको नतिजालाई निक्कै उत्सुकताका साथ हेरेकी केकीले ‘निर्वाचन’लाई लक्षित गरेर लामो विचार लेखेकी छन् ।

देशमा चुनाव हुनु नै देशले जितेको मान्ने केकीले नवनिर्वाचित सदस्यहरुलाई बधाई दिदै केहि चाहनाहरु पनि व्यक्त गरेकी छन् । एमाले अध्यक्ष केपीशर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा हेरेकी केकीले प्रधानमन्त्रीले निमन्त्रण गरेमा शपथ ग्रहण समारोहमै उपस्थित भएर प्रत्यक्ष रुपमा बधाई दिने आशा  गरेकी छन् । साथै, समय जुरेमामा संसदमा आउने महिला जनप्रतिनिधिसँग शनिबार बोनभोज गर्न मन लागेको पनि विचारमा लेखेकी छन् ।

यस्तो छ केकीको स्टाटस:-

‘निर्वाचन’ लोकतन्त्रको अत्यन्तै महत्वपूर्ण र अभिन्न पाटो हो। मतको माध्यमबाट आफ्नो लागि आफैले प्रतिनिधि छनौट गर्न पाउने यो सुन्दर र शान्तिपूर्ण प्रकृयामा सहभागी भएर संघीय लोकतान्त्रिक गणतंत्र नेपालको प्रतिनिधि तथा प्रदेश सभाको सदस्य चुन्न आफ्नो मताधिकारको प्रयोग गर्नुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई, दिदिबहिनीहरुलाई हामीले हासिल गरेको यो ऐतिहासिक उपलब्धिको निम्ति बधाई दिन चाहन्छु। यो निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सफल हुनुभएकोमा सम्माननीय प्रधानमंत्री श्री शेर बहादुर देउवालाई पनि बधाई दिन चाहन्छु।

निर्वाचनको मत परिणाम आँउदै गर्दा चलिरहेका बिभिन्न विश्लेषण, बहस र टिकाटिप्पणीहरु बिच म यो निर्वाचनबाट हामीले राष्ट्रको रूपमा प्राप्त गरेका केही उपलब्धिहरु प्रति तपाँईहरुको ध्यान आकृष्ट गराउन चाहन्छु।

असहज परिस्थितिका बावजूद काठमांडू-४ बाट ने.का. का युवा नेता गगन थापा, मोरंग-६ बाट ने.क.पा. (एमाले) का नेता लालबाबु पण्डित र गोरखा-२ बाट नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्राप्त गर्नु भएको सफलताले ‘वाद’ भन्दा ब्यक्तिको राजनीतिक निष्ठा र ईमान्दारिता जनप्रिय हुन्छ भन्ने मान्यतालाई स्थापित गरेको छ। उहाँहरु सबैलाई हार्दिक बधाई र यी पंक्तिहरु लेख्ने मौका प्रदान गर्नु भएकोमा तत् तत् क्षेत्रका मतदाताहरुको राजनीतिक चेतना र सुझबुझलाई नमन् गर्न चाहन्छु।

पराजयका बावजूद सुसंस्कृत राजनितीको सान्दर्भिकतालाई अझै बलियोसँग स्थापित गराउन सभ्य राजनितीक आचरण देखाउनु हुने विवेकशील साझा पार्टीका सम्पूर्ण उम्मदेवारहरु, ने.क.पा (एमाले) का युवा नेता डा. राजन भट्टराई (काठमांडू-४) र ने. का. का युवा नेता विश्व प्रकाश शर्मा (झापा-१) लाई पनि नमन् गर्न चाहन्छु। राजनितीमा सहिष्णुता, सौहार्द्रता, मेलमिलाप र जनमत शिरोपर गर्ने संस्कारका मार्गदर्शक हुनु भएकोमा बधाई दिन चाहन्छु। राजनिती सामाजिक ध्रुवीकरणको निम्ति नभई सामाजिक एकिकरणको निम्ति गरिनुपर्छ भन्ने संदेश दिन तपाँईहरु सफल हुनुभएको छ।

यसै निर्वाचनको माध्यमबाट नेपालका आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, दलित, उत्पिडित र सीमान्तकृत वर्गले राष्ट्रको मूलधारमा सम्मानजनक र समावेशी सहभागिताको निम्ति गरेको पहल प्रति पनि नमन् गर्दछु। हामी बीचको एकतालाई विचलित हुन नदिई मतकै माध्यमबाट आफ्नो अधिकारलाई स्थापित गराउन तपाँईहरुले खेल्नु भएको भूमिका नै लोकतंत्रको सबैभन्दा सबल पक्ष हो। तपाँईहरुको सहभागिता र अभिमत राज्यको संरचनामा आवश्यक परिवर्तनको संवाहक हुनेछ भन्ने बिश्वास लिएकी छु।

महिलाहरु चुलोमै सिमित हुनुपर्दछ भन्ने पितृसत्तात्मक सोच बिरुध्द उभिएर राजनितीमा महिला सहभागिताको नेतृत्व गर्नुहुने सम्पूर्ण बिजयी र प्रतिस्पर्धी महिला नेतृहरुको अदम्य साहस प्रति पनि नमन् गर्न चाहन्छु। लामो हिंसात्मक आन्दोलन त्यागेर शान्तिपूर्ण संसदीय पद्वतिमा आउनु भएकी रुकुम पूर्वबाट निर्वाचित कमला रोका र झापा-२ बाट निर्वाचित हुनु भएकी पवित्रा निरौला खरेललाई हार्दिक बधाई दिन चाहन्छु। प्रत्यक्ष र समानुपातिक तर्फबाट संसदमा आउनुहुने महिला जनप्रतिनिधिहरु सबैसँग एक शनिवार बनभोज गर्ने रहर छ। मौका मिले आफ्ना कुराहरु भन्न र तपाँईहरुको कुरा सुन्न चाहन्छु। सम्पूर्ण नेपाली महिलाहरुको पक्षमा ऊभिनुपर्ने अवस्था आँउदा दलगत स्वार्थ भन्दा माथि उठ्नु हुनेनैछ भन्ने अपेक्षा लिएकी छु।

यीनै उपलब्धिहरुको बिच यो निर्वाचनमा आफ्नो पक्षमा अभूतपूर्व जनमत हासिल गर्न सफल हुनु भएकोमा ने.क.पा (मा.के.) का अध्यक्ष श्री पुष्पकमल दहाल र भावी प्रधानमंत्रीको रुपमा हेरिएको ने.क.पा. (एमाले) का अध्यक्ष श्री केपि शर्मा ओलिलाई हार्दिक बधाई दिन चाहन्छु। यो जनमत राजनीतिक स्थायित्व, सुशासन, बिकास र समृध्दिको निम्ति लालायित तीब्र जन आकांक्षाको प्रतिफल हो भन्ने कुरा स्मरण गराउन चाहन्छु। तपाँईको नेतृत्वमा नेपाल स्थायी शान्ति र तीब्र आर्थिक बिकासको बाटोमा अघि बढ्ने छ भन्ने बिश्वास पनि लिएकी छु।

यहाँले आमन्त्रण गर्नु भएमा प्रधानमंत्रीको शपथ ग्रहण समारोहमा प्रत्यक्ष उपस्थित भएर बधाई दिनेछु।

र अन्त्यमा, निर्वाचन परिणाम आँउदै गर्दा चलेका टिकाटिप्पणी र बहसहरु केहि समय पछि स्वत कम हुँदै जानेनै छ। जीतको उन्माद र हारको नैराश्यता क्षणिक मात्रै हुन्। तसर्थ सहिष्णुता क़ायम राखौँ। हामी सँग भएका असिमीत संभावनाहरु भने निरन्तर बहसको बिषय बनिरहोस्। ती संभावनाहरु उद्यमशीलता बनोस्। त्यसको निम्ति आवश्यक राजनितीक वातावरण छिट्टै निर्माण होउन्।

मातृभूमिको जय होस्। हामी सबैको जय होस्।