‘कायरा’ अर्थात् वरदान पाएकी नारी

‘कायरा’ अर्थात् वरदान पाएकी नारी

द सिनेमा टाइम्स
0
Shares

दिनेश सिटौला,

द सिनेमा टाइम्स काठमाडौं – साउन १८ गतेदेखि आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । यो समय आर्यन र साम्राज्ञीका लागि विशेष समय पनि हो । किनकि, ‘कायरा’ को रिलिज मिति नजिकिँदै न छ ।नेपाली फिल्म क्षेत्रमा चकलेटीको हिरोको बहार ल्याउने अभिनेताका रुपमा चिनिन्छ आर्यनलाई । र, अहिलेकी ‘हट केक’ अभिनेत्रीकी रुपमा लिइन्छ साम्राज्ञीलाई । यी दुईको जोडी फिल्ममा आउँदैछ ‘कायरा’ बनेर ।कायरा उर्फ साम्राज्ञी ।
फिल्मकी कायराले जय उर्फ आर्यन सिग्देललाई फिल्ममा मात्र साथ दिएकी छैनिन् । प्रचारमा पनि उत्तिकै साथ दिएकी छन् ।

शनिवार आर्यन र साम्राज्ञीसँग भेटघाटको योजना थियो । शूटिङ अनुभव साटासाट गर्न उनीहरुले द सिनेमा टाइम्सका लागि समय छुट्याएका थिए । आर्यन केही पहिले आएर गफगाफमा जोडिइसकेका थिए । एकैछिनमा साम्राज्ञी आइन् । सामुन्ने बसिन् । पहिलो प्रश्न थियो – फिल्मको नाम ‘कायरा’ नै किन राख्नुभयो ? ‘यसको अर्थ ठाउँअनुसार फरक हुनसक्छ, हामीले ग्रीक भाषाबाट यो शब्द सापटी लिएका हौं, जसको अर्थ वरदान पाएकी महिला भन्ने हुन्छ ।’, आर्यनले जवाफ फर्काए । साम्राज्ञी मुसुक्क हाँसिन् । उनी नै थिइन् फिल्मकी पात्र अर्थात् कायरा ।

यो भूमिकामा साम्राज्ञी यति फिट थिइन् कि, जतिबेला फिल्मको स्क्रिप्ट तयार हुँदै थियो, त्यो बेलादेखि नै कथाले साम्राज्ञीको खोजी गरेको थियो । आर्यनले भने, ‘हामीले यो फिल्म लेख्दा नै साम्राज्ञीलाई अफर गर्ने सोचेका थियौं, किनकि यो भूमिकामा लागि उनी पर्फेक्ट थिइन्’, आर्यनले साम्राज्ञीतिर इंगित गर्दै भने, ‘पछि कथा सुनेपछि उनले पनि अस्वीकार गरिनन्, यदि साम्राज्ञी नभएको कोही नयाँ अनुहार हुन सक्थ्यो । ’फिल्ममा कथा के होला भनेर धेरैलाई लागेको हुनसक्छ, त्यो स्वभाविक पनि हो ।

फिल्मको कथा थोरै खुलाउँदै साम्राज्ञीले थपिन्, ‘फिल्ममा जय र कायराको कथा हो, जय मायाबाट भाग्न खोज्छ, भाग्दाभाग्दै ऊ फिलिपिन्स पुग्छ । ’प्रायः दृश्य फिलिपिन्समा छायांकन गरिएको छ । छायांकन गर्नका लागि पहिले स्वीकृती लिनुपर्ने, सुरक्षाका हिसाबले राम्रो तर फिल्मको छायांकनको व्यवस्था मिलाउन गाह्रो थियो । ‘अलिअलि झण्झट त थियो तर टिमको जोशले शूटिङ सकिएको भर्खरैझैँ लाग्यो ।’, साम्राज्ञीले थपिन् ।एकसाथ अन्तर्वार्ता दिएका आर्यन र साम्राज्ञीले एकअर्काको तारिफ गर्न पनि समय लगाएनन् ।

आर्यनले सुनाए, ‘मैले साम्राज्ञीका केही फिल्म हेरेको थिएँ, त्यतिबेला नै मलाई लागेको थियो कि, उनले गज्जबको अभिनय गर्न सक्छिन् । ’यता साम्राज्ञीले पनि आफूलाई पहिलेका फिल्मका तुलनामा यो फिल्ममा काम गर्न निकै सहज भएको बताइन् । ‘पहिलेका फिल्ममा प्रायः म डेब्यु हिरोसँग नै हुन्थें, यो फिल्मको सेटमा पनि मैले धेरै कुरा सिक्ने मौका पाएँ’, साम्राज्ञीले खुलाइन्, ‘उहाँ (आर्यन सिग्देल) सँग फिल्मबाहेक अरु बेला मेरो भेट जम्मा एकपटक मात्र भएको थियो, तर फिल्ममा काम गर्दाको समय कति छिटो सकिएजस्तो लाग्यो, धेरै कुरा सिक्ने मौका पाएँ । ’तारिफ पाएका आर्यनले आफूले यो फिल्ममा भिन्दै भूमिकामा अभिनय गरेको बताए । 

‘मेरो एउटा साथी छ फिल्मले मलाई विश्वभर चिनायो, दर्शकले मलाई अझै पनि लभस्टोरी फिल्ममै रुचाइरहनुभएको छ, त्यसैले पनि मैले यो फिल्ममा अभिनय गर्ने निर्णय गरेको हुँ’, उनले थपे, ‘देश विदेश धेरै ठाउँ घुम्दा आफूलाई दर्शकले लभर ब्याइका रुपमा देख्न पाएकाले मैले यो भूमिका रोजेको हुँ, पछि दर्शकले अरु भूमिकामा देख्न चाहनुभयो भने पक्कै आउँछु ।’
फिल्ममार्फत आर्यनले आफ्नो ब्यानरसँग पनि सहकार्य गरेका छन् ।  यसको कारण खुलाउँदै उनले भने, ‘आफ्नो ब्यानरमा भएपछि सीमा हुँदैन, अरुको फिल्ममा सीमा हुन्छ, स्क्रिप्टमा काम गर्दा एउटा हुन्छ, हलमा जाँदा त्यो फिल्म अर्कै भइसकेको हुन्छ ।’
साथै उनी आफूले फिल्म निर्माण गर्दा खुशी भएको समेत बताए । आर्यन र साम्राज्ञी दुवैलाई विश्वास छ कि, यो फिल्मले जीवन्त बनाइदिनेछ । किनकि, दुवै कलाकारको पृष्ठभूमि ‘लभस्टोरी’ फिल्मकै छ । आर्यनका केही प्रेमकथाका फिल्मले उनलाई विश्वभरका नेपालमाझ चिनाएको छ । तीमध्ये ‘मेरो एउटा साथी छ’ अझै हिट फिल्मको सूचीमा अटाउँछ उनका लागि ।

साम्राज्ञीको त झन् प्रेमकथाका फिल्म मात्र रिलिज भएका छन् भन्दा पनि हुन्छ । तीमध्ये डेब्यु फिल्म ‘ड्रिम्स’ र दोस्रो फिल्म ‘ए मेरो हजुर २’ ले उनलाई चर्चित बनाइदियो । आर्यनले थपे, ‘लभस्टोरी फिल्मले कलाकारलाई जीवन्त बनाउँछ, यो फिल्मले पनि एउटा रेकर्ड राख्नेछ भन्नेमा म स्योर छु । ’साम्राज्ञीले पनि कुरामा कुरा थप्दै भनिन्, ‘यो फिल्मको स्क्रिप्ट सुनेपनि यो फिल्मलाई रिजेक्ट गर्न नै सकिन, कथाले त्यति तानेको थियो ।’ आर्यन र साम्राज्ञीको यो उत्सुकता र विश्वासलाई दर्शकले साथ दिनेछन् भन्नेमा पनि यी दुवै उत्तिकै ढुक्क छन् ।

‘कायरा’ लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।