दोस्रो हप्तामा ‘कायरा’ (बक्सअफिस) रिपोर्ट

दोस्रो हप्तामा ‘कायरा’ (बक्सअफिस) रिपोर्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नायक आर्यन सिग्देल र साम्रज्ञी राज्यलक्ष्मी शाह स्टारर सिनेमा कायरा आजबाट प्रर्दशनको दोस्रो हप्तामा प्रवेश गरेको छ । सिनेमाले पहिलो र दोस्रो दिन वर्ष कै ठुलो ओपनिङ कलेक्सन गर्ने सिनेमा बनेको छ । पहिलो दिन ६० प्रतीशत अकुपेन्सी रहेको सिनेमाले शनिबार दिवा शोमा शतप्रतीशत अकुपेन्सी कायम गरेको थियो ।

लभस्टोरी मन पराउने युवा वर्गका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । यस्तै ‘कायरा’को नेपाल रिलिजमा प्राय दर्शक र सिनेमाकर्मीले स्लो र लेन्दी भएको प्रतिक्रिया दिएका थिए । सिनेमाको विशेष शोमा पनि अधिकांशले सिनेमाको यहि पक्षमा खोट लगाए । अभिनेता आर्यनले दुवई उड्दै गर्दा यस विषयमा मुख खोलेका छन् । उनले भने दर्शकाले ‘कायरा’को आज शुक्रबारबाट नयाँ भर्सन हेर्न पाउने बताए । आर्यनले भने दर्शकलाई सिनेमाको फ्ल्यास ब्याक बुझ्न गाह्रो भएको बताए । उनले भने, ‘जय र कायराको नेपालमा बढेको सम्बन्ध र त्यो सम्बन्ध फिलिपिन्समा कन्टिन्यू भएको कुरा बुझ्न दर्शकलाई गाह्रो भएको पाइएको छ । कति दर्शकलाई सिनेमा स्लो पनि लागेको पाएँ ।’

‘हुनत, दुई जना क्यारेक्टर भएको सिनेमा स्लो नै हुन्छ । स्पेशल शोमा पनि त्यो सुझाव पाएको थियौं । यो हप्ताको शुक्रवार वा शनिवारबाट एडिटेड र दर्शकले पूर्ण रुपमा बुझ्ने भर्सनमा सिनेमा हलमा आउँछु, आर्यनले भने । उनले टेक्निकल प्रोब्लमका कारण हलमा पुरानो भर्सन प्रयोग गर्नु परेको बताए । उनका अनुसार, २ घण्टा २१ मिनेटको सिनेमा अब २ घण्टा ५ मिनेटको हुनेछ । सिनेमा हेरेका दर्शकले आर्यन-साम्राज्ञीको केमेस्ट्री, फ्रेमिङ, लोकेशन, छायांकन र डाइलगको भने प्रशंसा गरेका छन् ।

वितरक सुनिल मानन्धरका अनुसार कायराले एक हप्तामा १ करोड ५५ लाख बराबर कारोबार गरेको बताए । कायराले पहिलो दिन शुक्रबार ३५ लाख, दोस्रो दिन शनिबार ६३ लाख, आइतबार १५ लाख, सोमबार ११ लाख, मगंलबार १० लाख, बुधबार ९ लाख, बिहिबार ८ लाखको हाराहारीमा कारोबार गरेको छ ।

सिनेमाका निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त सिनेमामा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो सिनेमामा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले सिनेमाका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।