मानव सेवा आश्रमलाई न्यानो लुगा वितरण गर्दै ‘जय भोल’ले मनायो ५१ औं दिन

मानव सेवा आश्रमलाई न्यानो लुगा वितरण गर्दै ‘जय भोल’ले मनायो ५१ औं दिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा निर्देशक अशोक हर्माले बाह्र वर्षपछि निर्माण भएको सिनेमा ‘जय भोले’ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ । दशैंको फुलपातीको दिन रिलिज भएको ‘जय भोले’ले गएको मंगलबार आफ्नो प्रदर्शनको ५१ औं दिन पार गरेको हो । तर निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमाको सफलताको खुशी साट्न कुनै पार्टी दिएनन्, त्यसको साटो उनले राजधानीको एक आश्रमलाई सहयोग गरेका छन् ।

शुक्रवार दिउँसो सामाखुसीमा रहेको मावन सेवा आश्रममा निर्माण टिमले न्यानो कपडा बाँड्दै ५१ औं दिने सफलताको खुसी साटासाट गरेको छ । आश्रममा आश्रित मानसिक सन्तुलन गुमाएका ५० जना वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गर्दै एक छाक खाना पनि निर्माता शर्माले खुवाए ।

कलाकारहरु खगेन्द्र लामिछाने, सौगात मल्ल, जयनन्द लामा, शारदा गिरी, छायाँकार पुरुषोत्तम प्रधान, नृत्य निर्देशक बसन्त श्रेष्ठ उपस्थित कार्यक्रममा निर्देशक शर्माले आफूले १७ वर्ष अगाडि सिनेमा ‘अल्लारे’ले ५१ औं दिन मनाउँदा पनि वृद्धवृद्धालाई सहयोग गरेको सम्झिए । उनी वृद्धवृद्धालाई सहयोग गर्दा मिल्ने खुसी अरु काममा नमिल्ने बताउँछन् ।

सिनेमा ‘जय भोले’ ले ४ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । निर्देशक शर्माले १२ वर्षपछि निर्देशनमा कमब्याक गरेको सिनेमाले ५१ औं दिन मनाउँदा निकै उत्साहित रहेको बताए । उनी खुसी मुद्रामा भन्छन्, ‘अब निर्देशनबाट टाढा रहँदिनँ ।’ उनले अर्को वर्षको दशैंमा प्रदर्शनमा ल्याउने गरि सिनेमा ‘रातो टिका निधारमा’ घोषणा गरिसकेका छन् ।