१२ वर्षपछि अशोक शर्माले घोषणा गरे ‘जय भोले’

१२ वर्षपछि अशोक शर्माले घोषणा गरे ‘जय भोले’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाण्डौ – निर्माता अशोक शर्मा र पछिल्लो छिमलका रुचाइएका अभिनेता खगेन्द्र लामिछानेले सिनेमा जय भोलेमा टीमअप गरेका छन् । शर्माको निर्देशन, अभिनय एवं निर्माण रहने सोसल तथा कमेडी ड्रामा विहिबार राजधानीमा घोषणा गरियो ।

जसमा लामिछानेको पटकथा एवं मुख्य भूमिका हुनेछ । शिवरात्रीदेखि छायांकन सुरु हुने सिनेमाको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ । सिनेमालाई ह्युमर एवं सोसल ड्रामा जानरामा राखिएको छ ।

खगेन्द्रसहित सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । मितिनी निर्देशनको १२ वर्षपछि शर्मा निर्देशनमा कमब्याक गर्न लागेका हुन् । उनको कम्पनी फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा फिल्म बन्न लागेको हो ।

दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथा फिल्मले भन्छ । निर्देशक शर्मा आफ्नो कमब्याकलाई लिएर उत्साहित देखिए । ‘मेरो क्रिएटिभिटी पुनः पोलिस भएर आउँछ भन्ने विश्वास छ’ शर्माले भने, ‘१२ वर्ष सिर्जनालाई थाती राखेँ । अब यसले नयाँ र पुरानो पुस्तालाई फ्युजन गर्नेछ ।’

अभिनेता लामिछानेले सिटी कथामा फिल्म बनेको बताए । ‘यो अल्ट्रा मोर्डन स्टोरी होइन’ उनले भने, ‘मेरा लागि फिल्म गर्नुअघि त्यसले छुन्छ कि छुँदैन भन्ने प्रमुख कुरा हो ।’ तपाईं आफूले नलेखेका फिल्म गर्नु हुन्न नि भन्ने जिज्ञासामा उनले भने, ‘यदि कसैले राम्रो स्क्रिप्ट ल्याउँछ भने म लेख्नै छाडिदिन्छु ।’

१ करोड ६० लाख बजेट बताइएको सिनेमाको छायांकन झापा र इलाममा हुनेछ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ ।